प्लास्टिक र धातुका भाँडाकुँडाले बजार ढाकिरहेका बेला स्याङ्जाको चापाकोटमा पुस्तौँदेखि बनाइँदै आएको काठे ठेकीले भने फेरि बजार पाउन थालेको छ । कुनै समय गाउँघरमा दही–मोही राख्न अनिवार्यजस्तै मानिने ठेकी अहिले स्याङ्जाबाहिरका बजार हुँदै विदेशमा रहेका नेपालीका घरसम्म पुग्न थालेको छ ।
चापाकोट नगरपालिका–९ बैडीका लिलबहादुर चुँदारा ५२ वर्षदेखि काठका भाँडाकुँडा बनाउँदै आएका छन् । बाउबाजेले गर्दै आएको सीपलाई निरन्तरता दिँदै उनले ठेकीसँगै ठेको, गौवा, ढेउवा, मानोलगायत सामग्री बनाइरहेका छन् ।
लामो समय यही काममा बिताएका लिलबहादुरका लागि प्रविधिको परिवर्तनले काम गर्ने तरिका पनि बदलिदिएको छ । पहिले परम्परागत औजारको प्रयोगबाटै काठका सामग्री बनाउने उनी अहिले विद्युतीय उपकरणको समेत प्रयोग गर्छन् । काठ काट्नेदेखि त्यसलाई आकार दिने र अन्तिम रूप दिनेसम्म प्रविधिको प्रयोगले काम पहिलेभन्दा सहज भएको उनको अनुभव छ ।
तर सीप जोगाउने जनशक्ति भने घट्दै गएको छ । युवापुस्तामा विदेश जाने क्रम बढेसँगै काठका भाँडाकुँडा बनाउने काम सिक्ने र यसैलाई पेसा बनाउनेको संख्या कम भएको लिलबहादुर बताउँछन् । तत्काल आम्दानी नहुने भएकाले पनि नयाँ पुस्ता यसतर्फ आकर्षित हुन नसकेको उनको भनाइ छ ।
यद्यपि पुरानो सीपबाट तयार भएका सामग्रीको माग भने घटेको छैन । स्याङ्जाका विभिन्न ठाउँका साथै पाल्पा, गुल्मी र बुटवलसम्मका ग्राहक ठेकी किन्न चापाकोट पुग्ने गरेका छन् । कतिपय ग्राहक घरमै आएर पनि सामग्री खरिद गर्छन् ।
काठको ठेकीमा राखिएको दही र मोहीको स्वाद तथा गुणस्तर राम्रो हुने भएकाले यसको प्रयोग अझै कायम रहेको स्थानीय माधवप्रसाद लम्साल बताउँछन् ।
‘यसमा मोही, दही राम्रो हुन्छ । मोही राख्न पाइन्छ, गिल्टेकोमा त्यति राम्रो हुँदैन,’ लम्सालले भने, ‘प्लास्टिक त साँचै भन्ने हो भने प्रयोग नगरे पनि हुन्छ, काठकै ठीक हुन्छ ।’
गाउँघरमा दही र मोही राख्न ठेकी प्रयोग गर्ने चलन अझै रहेकाले काठका भाँडाको माग टिकिरहेको स्थानीयहरू बताउँछन् । प्लास्टिकका भाँडाकुँडा तुलनात्मक रूपमा सस्तो र सहजै उपलब्ध भए पनि मौलिक काठे सामग्रीप्रतिको आकर्षण पछिल्लो समय फेरि बढेको छ ।
सामाजिक सञ्जालले विदेश पुर्यायो
चापाकोटमा बनेका ठेकी पहिले आसपासका गाउँ र बजारमा सीमित थिए । पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट प्रचार हुन थालेपछि यसको पहुँच पनि बढेको छ ।
क्यानडा र अमेरिकालगायतका देशहरुमा जाने नेपालीहरूले समेत चापाकोटबाट ठेकी खरिद गरेर लैजान थालेका छन् । विदेशमा रहेका आफन्तका लागि गाउँबाट ठेकी पठाउने र आफैं विदेश जाँदा बोकेर लैजाने क्रम बढेको लिलबहादुर बताउँछन् ।
‘यो मौलिक सामान भएकाले बिक्री बढेको हो । विदेश जाने नेपालीहरूले पनि यहाँ राखिएको दही, मोही राम्रो हुने भएकाले बोकेर लैजानुहुन्छ,’ उनले भने, ‘अहिले पनि दुई–चार वटा बनाएर राखिदिनुस् भनेर माग आइरहेको छ ।’
हाल एउटा ठेकीको मूल्य ५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्ने गरेको छ । ठेकीको आकार, बनोट र त्यसमा प्रयोग हुने काठअनुसार मूल्य फरक हुने गर्छ ।
सीप छ, सिक्ने पुस्ता घट्दै
चुँदारा समुदायले पुस्तौँदेखि जोगाउँदै आएको काठका भाँडाकुँडा बनाउने सीप अहिले बजारसँग जोडिन थाले पनि यसको संरक्षण चुनौतीमुक्त छैन । माग बढे पनि सीप हस्तान्तरण हुने पुस्ता घट्दै जाँदा परम्परागत ज्ञान हराउने जोखिम कायमै छ ।
युवापुस्तालाई काठका सामग्री बनाउने सीप सिकाउने, उत्पादनमा आधुनिक प्रविधिको प्रयोग बढाउने र बजार विस्तार गर्न सके यो परम्परागत पेसालाई आयआर्जनसँग जोड्न सकिने देखिन्छ ।
स्थानीयस्तरमा मात्रै सीमित नराखी यस्ता मौलिक उत्पादनको संरक्षण र प्रवर्द्धनमा स्थानीय तहसँगै प्रदेश र संघीय सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता छ । बजारको मागअनुसार उत्पादन र प्रचार गर्न सके चापाकोटको काठे ठेकी नेपाली मौलिकता र सांस्कृतिक पहिचान बोकेको उत्पादनका रूपमा देशबाहिरसम्म पुग्ने सम्भावना देखिन्छ ।















