जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा ५१ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ हजार ४१८ सवारी चालकलाई कारबाही गर्दा उक्त रकम उठेको ट्राफिक प्रहरीले जनाएको छ । फेदीखोला, पुतलीबजार, आँधीखोला, भीरकोट, वालिङ, गल्याङ, चापाकोट र मिर्मि क्षेत्रमा रहेका ट्राफिक चेकपोष्टबाट राजस्व संकलन गरिएको हो ।
महिनागत रूपमा हेर्दा साउनमा १ हजार ४२३ सवारी चालकलाई कारबाही गरी ९ लाख ९९ हजार रुपैयाँ उठाइएको थियो । भदौमा १ हजार ३४४ सवारी चालकबाट १० लाख ५२ हजार रुपैयाँ संकलन भएको छ । असोज महिनामा ६१९ सवारी चालक कारबाहीमा परेपछि ५ लाख ६५ हजार रुपैयाँ राजस्व उठेको स्याङ्जाका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले जानकारी दिए ।
यस्तै, कात्तिकमा ८४१ सवारी चालकलाई कारबाही गर्दा ७ लाख २ हजार रुपैयाँ संकलन भएको छ । मङ्सिरमा १ हजार १०२ सवारीबाट ९ लाख २४ हजार ५ सय र पुसमा १ हजार ७९ सवारी धनीलाई कारबाही गरी ९ लाख १७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने यस वर्ष राजस्व संकलन घटेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा ८ हजार ८५१ सवारी चालकलाई कारबाही गर्दा ६८ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो ।
ट्राफिक प्रहरीले राजस्व घट्नुको मुख्य कारण जेनजी आन्दोलन रहेको जनाएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि राजमार्ग केन्द्रित चेकजाँच प्रभावित हुँदा संकलनमा असर परेको ट्राफिक प्रहरीको भनाइ छ ।














