आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । एमालेले निर्वाचन क्षेत्र नम्बर १ बाट मिनप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट खिमबहादुर थापालाई उम्मेदवार चयन गरेको हो ।
स्याङ्जा–१ का उम्मेदवार गुरुङ गण्डकी प्रदेश सभाका पूर्व सांसद हुन् । लामो समयदेखि राजनीतिसँगै सामाजिक संघ–संस्थामा सक्रिय रहँदै आएका उनी एमाले स्याङ्जाको पूर्व अध्यक्षसमेत भइसकेका छन् । संगठन निर्माण र स्थानीय तहमा पार्टी विस्तारमा योगदान पुर्याएको भन्दै पार्टीले उनलाई उम्मेदवार बनाएको जनाएको छ ।
यस्तै, स्याङ्जा–२ बाट उम्मेदवार बनेका खिमबहादुर थापा हाल कालिगण्डकी गाउँपालिकाका अध्यक्ष छन् । उनी दोस्रो कार्यकालका लागि गाउँपालिकाको नेतृत्व गरिरहेका छन् । थापा २०७४ र २०७९ सालमा अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय महासचिवसमेत रहेका थापा हालै सम्पन्न एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । एमालेले संगठनात्मक क्षमता र स्थानीय तहमा कामको अनुभवका आधारमा उनलाई उम्मेदवार छनोट गरिएको जनाएको छ ।
एमालेले उम्मेदवार टुङ्ग्याएसँगै स्याङ्जामा निर्वाचनको माहोल थप तातेको छ । अन्य राजनीतिक दलहरू पनि आ–आफ्ना उम्मेदवार छनोट गर्ने तयारीमा जुटिरहेका छन् ।














