जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त र सुरक्षित रूपमा सम्पन्न गराउन अवैध हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै प्रशासनले जिल्लाभित्र विभिन्न कारणले व्यक्तिहरू तथा समूहसँग रहेका हातहतियार र खरखजना माघ १५ गतेभित्र बुझाउन अनुरोध गरेको हो ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन यस्तो कदम चालिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिए । उनले आफूसँग रहेका कुनै पनि किसिमका हातहतियार जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन सबै सम्बन्धितलाई आग्रह गरेका छन् ।
तोकिएको समयसीमाभित्र अवैध हातहतियार तथा खरखजना नबुझाए प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । प्रशासनको यो आग्रहले जिल्लामा निर्वाचनको क्रममा शान्ति सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।














