तेस्रो चापाकोट महोत्सवको दोस्रो दिन झलिको गीतका चर्चित गायक अर्जुन सापकोटाको उपस्थितिले माहोल झन् रौनकपूर्ण बनेको छ । महोत्सव स्थलमा सापकोटालाई हेर्न दर्शकको ठूलो घुइँचो लागेको थियो । स्टेजमा उक्लिनासाथ दर्शकको ताली र नाराले वातावरण उत्साहले भरिएको देखिन्थ्यो ।
लोकलय र झलिको गीतमार्फत लोकप्रिय बनेका सापकोटाले एकपछि अर्को चर्चित गीत प्रस्तुत गर्दा दर्शकहरू झुम्मिन बाध्य भएका थिर । युवादेखि वृद्धसम्म उनको झलिको, पछ्यौरी लिइस्यो, बस्यौ अलक्कै, डाँडैको टुनीलगायतका गीतमा साथ दिँदै नाचगान गरेको दृश्यले महोत्सवलाई स्मरणीय बनाएको थियो । दर्शकले देखाएको अपार मायाप्रति गायक सापकोटाले धन्यवाद व्यक्त गर्दै चापाकोटको माया कहिल्यै नबिर्सने बताएका थिए ।
महोत्सवमा सांगीतिक प्रस्तुतिका साथै स्थानीय कला, संस्कृति र उत्पादनको पनि प्रदर्शनी गरिएको छ । दोस्रो दिनसम्म आइपुग्दा महोत्सवले स्थानीय व्यवसाय प्रवर्द्धन र सांस्कृतिक पहिचान उजागर गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।
तेस्रो चापाकोट महोत्सवमा आगामी दिनहरूमा पनि विभिन्न सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुने जनाइएको छ । चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको यस महोत्सवले पर्यटन प्रवर्द्धन, स्थानीय कलाकारको हौसला र आर्थिक चलायमानतामा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
शुक्रबारदेखि स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको महोत्सव माघ ६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ ।














