स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले शनिबार लोक सेवा आयोग, शिक्षा सेवा आयोगलगायतका परीक्षालाई लक्षित गर्दै एकदिने निःशुल्क अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
आर्थिक अवस्था कमजोर तथा समयको अभावका कारण बजार पुगेर तालिम लिन नसकेका व्यक्ति र विद्यार्थीलाई लक्षित गरी पालिकाले आफ्नै सभा हलमा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले क्षमता विकास गर्न चाहनेहरूका लागि अभिमुखीकरण उपयोगी हुने बताए । उनले यस्ता कार्यक्रमले भावी दिनमा कसरी अगाडि बढ्ने भन्ने स्पष्ट बाटो देखाउने र सहभागीलाई प्रेरणा दिने उल्लेख गरेका थिए ।
अभिमुखीकरण लोक सेवा तयारीमा मात्र सीमित नभई डाक्टर, इन्जिनियरलगायत विभिन्न क्षेत्रमा अघि बढ्न चाहनेका लागि समेत सहयोगी बन्ने अध्यक्ष तिवारीको भनाइ छ । उनले सिकाइलाई सबै किसिमका लक्ष्य प्राप्तिमा प्रयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल सरकारका उपसचिव मित्र प्रसाद घिमिरेले आफ्नो अनुभव साझा गर्दै धेरै संघर्षपछि निजामती सेवामा प्रवेश गरेको बताए । उनले सरकारी विद्यालयमा अध्ययन गरेको र आफ्नो टोलसम्म अहिले पनि मोटरबाटो नपुगेको उदाहरण प्रस्तुत गर्दै निरन्तर मेहनतले सफलता सम्भव हुने धारणा राखेका थिए ।
एकदिने अभिमुखीकरणमा अर्जुनचौपारी गाउँपालिका वडा नं–५ निवासी तथा स्वास्थ्य मन्त्रालयका उपसचिव घिमिरेले लिखित परीक्षा कसरी तयारी गर्ने र परीक्षा दिने तरिकाबारे जानकारी दिए । यस्तै, वडा नं–३ का स्थायी बासिन्दा तथा स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत पिताम्बर रिमालले आईक्यूसम्बन्धी विषयमा सहजीकरण गरेका थिए । अर्जुनचौपारी गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृत तथा स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत कौशल पाण्डेले समसामयिक विषयमा परीक्षा तयारीका उपाय प्रस्तुत गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा लोक सेवाको तालिम लिनबाट बञ्चित कर्मचारी, आर्थिक अवस्था कमजोर भएका व्यक्ति तथा विद्यार्थी गरी करिब १५० जनाको सहभागिता रहेको थियो ।














