स्याङ्जा प्रहरीले वालिङबाट करिब १३ लाख रुपैयाँ बराबरको अवैध सुर्ती बरामद गरेको छ । नियमित चेकजाँचका क्रममा बिलबिनाको सुर्ती बोकेको एक भ्यान नियन्त्रणमा लिइएको हो ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले वालिङ नगरपालिका–८ स्थित मालपोत चोकमा प्रदेश ३–०१०२३ च ८७५२ नम्बरको सुजुकी ईको भ्यान रोकेर जाँच गर्दा अवैध सुर्ती फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।
भ्यानबाट ‘सुपर पावर चक्का’ लेखिएको सुर्तीका आठ बोरा बरामद गरिएको छ । प्रत्येक बोरामा ५०–५० प्याकेट गरी जम्मा चार सय पोका, थप खुला अवस्थामा दुई पोका र ३६ थान सुर्ती समेत गरी कुल १२ लाख ९२ हजार १ सय १७ रुपैयाँ बराबरको सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सुर्ती र सवारीसाधन आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको छ ।














