अवैध रूपमा पेट्रोल सञ्चय गरी बिक्रीवितरण गरेको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले फेदीखोला गाउँपालिका–२ स्थित एक एग्रोभेट पसलमा छापा मारेर पेट्रोल लुकाई राखिएको अवस्थामा फेला पारेको हो ।
शुक्रबार बिहान करिब ११ बजे अवैध रूपमा अति प्रज्वलनशील पदार्थ(पेट्रोल)को कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले फेदीखोला बजारमा रहेको “गंगा एग्रोभेट पसल”मा जाँच गरेको थियो । जाँचका क्रममा बिक्री गर्ने उद्देश्यले लुकाईछिपाई राखिएको २४.५ लिटर पेट्रोल बरामद गरिएको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा फेदीखोला गाउँपालिका–२ का ४२ वर्षीय गंगा प्रसाद पौडेल रहेका छन् । उनलाई कालोबजार सम्बन्धी कसूरमा नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा पौडेल यसअघि पनि अवैध रूपमा पेट्रोल बिक्री गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयबाट २० हजार रुपैयाँ जरिवाना तिरेर छुटेको तथ्य खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । प्रहरीले अवैध रूपमा इन्धनको कारोबार नगर्न सबैलाई सचेत गराउँदै यस्ता गतिविधिमा कडाइ गर्ने जनाएको छ ।














