मुक्तिनाथ विकास बैंकले स्याङ्जाको भीरकोट नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसहित विद्यालय पोशाक वितरण गरेको छ ।
बैंकले आधारभूत र माध्यमिक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै कापी, कलमलगायत शैक्षिक सामग्री र ट्रयाकसुटसहितको पोशाक उपलब्ध गराएको हो । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भीरकोट सामिप्य सदनको अगुवाइमा सहयोग वितरण गरिएको बैंकले जनाएको छ ।
नगरपालिकाभित्रका आठ वटा विद्यालयका ४४ जना छात्र–छात्रालाई सामग्री वितरण गरिएको हो । दहथुम, भाग्योदय माध्यमिक विद्यालय, लक्ष्मी, सूर्यमुखी, बालवर्ष, पूर्ण दुर्गाभवानी आधारभूत विद्यालय तथा पब्लिक एकेडेमीमा अध्ययनरत विद्यार्थीले सहयोग पाएका छन् । वडा नम्बर २ र ७ का विद्यार्थीलाई दहथुम माध्यमिक विद्यालयमा तथा वडा नम्बर ६ र ८ का विद्यार्थीलाई भाग्योदय माध्यमिक विद्यालयमा सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सामग्री वितरण गर्दै मुक्तिनाथ विकास बैंक क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकालले बैंकले विपन्न, जेहेन्दार र सामाजिक रूपमा अप्ठ्यारोमा परेका वर्गलाई निरन्तर सहयोग गर्दै आएको बताए । उनले शिक्षामा पहुँच बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।
बैंकले विगतदेखि नै विद्यालय तथा विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको छ । पछिल्लो समय स्थानीय सुरक्षा निकाय प्रहरीसँगको सहकार्यमा सूचना प्रविधि र सचेतनामूलक कार्यक्रमलाई समेत सहयोग गरिरहेको बैंकले जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।












