स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ स्थित रानीथुम्का आधारभूत विद्यालयमा यही माघ २६ गतेदेखि महायज्ञ सञ्चालन हुने भएको छ । विद्यालयमा सीपमूलक तथा व्यावसायिक शिक्षा प्रारम्भ गर्ने लक्ष्यसहित माघ २६ गतेदेखि फागुन ४ गतेसम्म एक हप्ते महायज्ञ आयोजना गर्न लागिएको हो ।
कक्षा ८ सम्म अध्यापन हुने विद्यालयमा हाल करिब ८० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको भौतिक अवस्था कमजोर रहेको र भवन तथा व्यावसायिक शिक्षाका लागि आवश्यक स्रोतको अभाव भएपछि महायज्ञ आयोजना गर्नुपरेको विद्यालयले जनाएको छ ।
विद्यालयको आर्थिक अवस्था सुधार्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनारायण सुवेदीले बताए । महायज्ञमा वाचन प्रविण पं. दिनबन्धु पोख्रेल तथा १०१ टेक्निकल कलेजका सङ्कल्पकर्ता ध्रुवशरण बस्यालको विशेष सान्निध्य रहनेछ ।
महायज्ञमार्फत करिब चार करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको प्रधानाध्यापक सूर्यकान्त रेग्मीले जानकारी दिए । संकलित रकमबाट विद्यालयको भवन निर्माणसहित शैक्षिक र भौतिक पक्ष सुदृढ बनाउने योजना रहेको रेग्मीले बताए ।
पूर्व विद्यार्थीहरूको सञ्जाल निर्माण गरी सबैलाई एकताबद्ध गर्दै महायज्ञबाट उठेको रकम विद्यालय सुधारमा लगानी गरिने पूर्व विद्यार्थी समिति संयोजक तथा शिक्षक माया गोदारले जानकारी दिइन् ।
हाल महायज्ञको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरेर काम अघि बढाइएको छ ।














