स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले चार दिनसम्म विद्यालय–विद्यालयमै आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा दुई हजार बढी विद्यार्थी लाभान्वित भएका छन् ।
वडागत रूपमा सञ्चालन गरिएको उक्त शिविरमा कुल २ हजार २५९ जनाले सेवा लिएका छन् भने २१७ जनामा थप उपचार आवश्यक देखिएपछि रेफर गरिएको छ ।
पहिलो दिन वडा नं. १ का विद्यालयहरूमा सुरु भएको शिविरमा ७४३ जनाको आँखा परीक्षण गरिँदा १०१ जना विद्यार्थीलाई रेफर गरिएको थियो । दोस्रो दिन वडा १, २ र ३ का विद्यालयमा परीक्षण हुँदा ५६१ जनाको परीक्षण गर्दा ४७ जनालाई थप उपचारका लागि रेफर गरिएको थियो ।
यस्तै, तेस्रो दिन वडा नं. ५ का विद्यालयमा जाँच गरिएको थियो, जहाँ ४२६ जनाले परीक्षण गर्दा ३४ जनामा समस्या भेटिएको थियो । चौथो दिन वडा ४ र ६ का विद्यालयमा परीक्षण हुँदा ५२९ जनाले सेवा लिएका थिए भने ३५ जनालाई रेफर गरिएको थियो ।
विद्यालयमै गएर स्वास्थ्य सेवा पुर्याउनु गाउँपालिकाको प्राथमिकतामा रहेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । उनका अनुसार, “विद्यार्थीको दृष्टि समस्याले पढाइ र विकास दुवैमा प्रभाव पार्छ । त्यसैले हामीले यस्तो लक्ष्यित स्वास्थ्य सेवा गाउँघरमै पुर्याइरहेका छौँ । रेफर भएका बालबालिकालाई पनि सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराइनेछ,” तिवारीले भने ।
उनले स्थानीय विद्यालय, अभिभावक र स्वास्थ्यकर्मीको सहकार्यका कारण अभियान प्रभावकारी बनेको उल्लेख गर्दै पालिकले सुरु गरेको ‘स्वस्थ आँखाबाट उज्यालो भविष्य’ अभियानलाई निरन्तरता दिने बताए ।
परीक्षणबाट रेफर गरिएका विद्यार्थीहरूको पहिलो चरणको उपचार गाउँपालिका भवनमै रहेको आँखा उपचार केन्द्रमार्फत गरिने प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए । यहाँसमेत समाधान नहुने अवस्थामा हिमालयन आँखा अस्पताल पोखरामा निःशुल्क उपचारका लागि पठाइने अर्यालले बताए ।














