फोहोरलाई बोझ होइन, स्रोतका रूपमा उपयोग गर्ने नगरपालिकाको उदाहरण प्रस्तुत गर्दै स्याङ्जाको भीरकोट नगरपालिकाले बजार क्षेत्रमा संकलित फोहोर र कवाडी बेचेर लाखौँ राजस्व आर्जन गरेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले बजार सफाइ, फोहोर व्यवस्थापन र पार्क सञ्चालनबाट कुल १६ लाख २० हजार ४१५ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा पार्क प्रवेश शुल्क तथा बनभोजबाट ३ लाख १७ हजार ६७५, कवाडी बिक्रीबाट ५ लाख ६६ हजार ८८०, सरसफाइ शुल्कबाट ७ लाख ८ हजार ३३० र अन्य विविध मदबाट २७ हजार ५३० रुपैयाँ प्राप्त भएको नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले बताए । सुन्दर चौर पार्कबाट मात्रै ५४ हजार ५० रुपैयाँ राजस्व उठेको छ ।
यस्तै, पर्यटन सम्भावनामा चिनिएको स्वरेक मैदानलगायतका क्षेत्रबाट भने अपेक्षित आम्दानी नउठ्दा नगरको आन्तरिक राजस्व लक्ष्य पूरा हुन नसकेको नगर प्रमुख कर्माचार्यको भनाइ छ । आर्थिक प्रशासन शाखाका अनुसार भीरकोटले गत वर्ष लक्ष्यको ६२.३७ प्रतिशत मात्र आन्तरिक राजस्व संकलन गरेको छ ।
पोखरा पछि वैकल्पिक एयरस्पोर्ट्स गन्तव्यका रूपमा चर्चित भीरकोट -५ स्थित स्वरेक मैदानबाट भने एक रुपैयाँ पनि राजस्व उठ्न नसक्नु नगरको मुख्य चुनौती बनेको छ । २०७५ सालमै विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता आयोजित यस स्थानमा दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ स्कुल पनि सञ्चालनमा छ ।
संघ, प्रदेश र स्थानीय तहको लगानीमा तारबार, पदमार्ग, साइक्लिङ ट्रयाक, पर्यटन सूचना केन्द्र, शौचालय र वनभोज स्थल निर्माण गरिएको यस क्षेत्रले अझै आम्दानी विस्तारको बाटो पहिल्याउन बाँकी छ ।
फोहोर व्यवस्थापनमार्फत स्रोत सिर्जना हुन थालेपछि भीरकोटले हरित अर्थतन्त्रको उदाहरण बनिरहेको छ । अब पर्यटन राजस्व ल्याउन संरचना, प्रशासनिक व्यवस्थित प्रणाली र निजी क्षेत्रसँग सहकार्यमा नगर ध्यान केन्द्रित गर्ने तयारीमा छ ।
स्थानीयवासीका अनुसार फोहोरबाट आम्दानी जस्तै पर्यटन सक्रियता बढाउन नसकिएको क्षेत्र सक्रिय हुँदा भीरकोटले ‘हरित र पर्यटन’ दुवै मोडेलमा देशभर उदाहरण बन्न सक्छ ।
नगरको हरित अभियानले स्थानीय तह स्तरमा वातावरणमैत्री अर्थतन्त्रको सन्देश दिएको हो । भीरकोटले हरित अर्थतन्त्रको ढोका खोलेको छ, अब त्यसैगरी पर्यटन आम्दानीको ढोका पनि उघार्नुपर्ने अपेक्षा स्थानीयको छ ।














