स्याङ्जामा अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत फरार रहेका दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार वालिङ नगरपालिका–११ घर भई हाल वडा नं–१ बस्दै आएका टुकाराम विकलाई राष्ट्रिय वन क्षेत्रको सल्ला जातको रुख अवैध रूपमा कटान गरेको मुद्दामा पक्राउ गरिएको हो । उनीबाट तीन लाख १९ हजार १० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो ।
त्यसैगरी वालिङ नगरपालिका–१४ निवासी भद्रबहादुर खाम्चा पनि पक्राउ परेका छन् । कुटपिट मुद्दामा अदालतले उनलाई तीन महिनाको कैद र एक हजार पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको थियो ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेसन टोलीले मंगलबार फरार कसुरहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।















