स्याङ्जाको वालिङ नगरपालिका –५ जर्कोटमा मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा भएको विवादले ज्यानमारा रूप लिँदा मृत्यु भएका घटनामा संलग्न थप एक फरार आरोपी ६५ दिनपछि पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको टोलीले फरार आरोपी १९ वर्षीय पर्बत खवासलाई पक्राउ गरेको हो । खवास सोही नगरपालिका –५ काम्तीका स्थायी बासिन्दा हुन् ।
गत मंगलबार पक्राउ परेका उनलाई बुधबार जिल्ला अदालत स्याङ्जामा पेश गरिएको प्रहरीले जनाएको छ । अदालतको आदेशअनुसार उनलाई आज बिहीबार पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
गत साउन ७ गते राति वालिङ –५ जर्कोटमा मोटरसाइकलको आवाजका कारण भएको विवादमा ३२ वर्षीय ढालबहादुर थापालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी चौधरीका अनुसार यसअघि सो घटनामा संलग्न सात जना प्रतिवादीहरुलाई अनुसन्धानपछि गत असोज २ गते नै कारागार चलान गरिएको थियो ।














