स्याङ्जाको पुतलीबजार नगरपालिका – ५ जुडी स्थित बाड्खोलामा एकजना मृत फेला परेका छन् । पुतलीबजार नगरपालिका – ३ लत्रेपिपलका ४० वर्षीय मिलन बिक्रम सेन बाड्खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
खेतमा पानी लगाउन जान्छु भनेर शुक्रबार बेलुकी घरबाट निस्केका सेन अबेरसम्म पनि घरमा नफर्केपछि आफन्तहरुले खोजतलास गर्दै जाँदा शनिबार बिहान १:३० बजे खोलाको पानीको बीचमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
घटनास्थल नजिकै माछा मार्ने सामाग्री १२ भोल्टको ब्याट्री, तार र माछा राख्ने फुर्लुङ समेत फेला परेको डिएसपी पौडेलले बताए । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-