आठौँ कालीगण्डकी गोल्डकपको उपाधिका लागि स्याङ्जाको होराइजन क्लब वालिङ र पाल्पाको ज्योतिपुञ्ज युवा क्लब रामपुरबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार सम्पन्न सेमिफाइनलमा जित निकाल्दै दुवै टोलीले फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
पहिलो सेमिफाइनलमा होराइजनले पोखराको बौद्ध शान्ति क्लब रामघाटलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।
खेलको २४औँ मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै बौद्ध शान्तिलाई अग्रता दिलाएका थिए । तर ३४औँ मिनेटमा अनिष तामाङले फ्रिकिकमार्फत गोल गरेपछि होराइजनले खेल बराबरीमा ल्यायो । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर बनाए पनि थप गोल हुन सकेन ।
पेनाल्टी सुटआउटमा होराइजनले ५–४ को नतिजा निकाल्दै फाइनल यात्रा तय गर्यो । टोलीका गोलरक्षक अनिष महतो प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा पाल्पाको ज्योतिपुञ्ज युवा क्लब रामपुरले गोरखाको हिल्ली फिल्डर्स गोरखा एफसीलाई २–० गोलले हरायो । खेलको १३औँ मिनेटमा बसन्त कुमालमाथि विपक्षी खेलाडीले फाउल गरेपछि ज्योतिपुञ्जले पेनाल्टी पाएको थियो । त्यसलाई आशिष गुरुङले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए ।
पहिलो हाफमा १–० ले अघि रहेको ज्योतिपुञ्जका लागि दोस्रो हाफमा सुनिल थापाले अर्को गोल थपे । त्यसपछि खेलमा थप गोल हुन नसकेपछि ज्योतिपुञ्ज २–० ले विजयी भयो । पहिलो गोल गरेका आशिष गुरुङ प्लेयर अफ द म्याच घोषित भए ।
अब उपाधिका लागि होराइजन र ज्योतिपुञ्जबीच आज दिउँसो ठीक २ बजे फाइनल खेल हुनेछ ।
द राइजिङ ग्रुप चापाकोटको आयोजनामा कात्तिक १५ गतेदेखि चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँसहित गोल्डकप, मेडल र प्रमाणपत्र र उपविजेताले एक लाख ५० हजार हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने ग्रुपका अध्यक्ष लालबहादुर घर्तीले बताए । त्यस्तै, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिँदै आएको छ ।











