आठौँ कालीगण्डकी गोल्डकपमा बौद्ध शान्ति फुटबल क्लब पोखरा र हिल्ली फिल्डर्स गोरखा फुटबल क्लबले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।
आइतबार भएका खेलमा पोखराले पर्वतलाई ४–० ले हराउँदा गोरखाले स्याङ्जा युथ क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्यो ।
चापाकोट नगरपालिका–९ स्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा बौद्ध शान्तिले मर्दीखोला युनाइटेड क्लब पर्वतमाथि एकतर्फी जित निकालेको हो । पोखराका लागि सुशान गुरुङ र आशिष गुरुङले समान दुई गोल गरे ।
सुशानले ३२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि आशिषले गोल थपेपछि पहिलो हाफमा पोखरा २–० ले अघि रह्यो । दोस्रो हाफमा सुशानले ४८औँ र आशिषले ५३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । खेलमा दुई गोल गरेका सुशान प्लेयर अफ द म्याच घोषित भए ।
आइतबारकै दोस्रो खेल भने निकै प्रतिस्पर्धात्मक बन्यो । हिल्ली फिल्डर्स गोरखा एफसीले स्याङ्जा युथ क्लबलाई टाइब्रेकर हुँदै सडन डेथमा हराएको हो ।
खेलको छैटौँ मिनेटमा शुभम श्रेष्ठको पासमा निखिल बस्नेतले गोल गर्दै गोरखालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ३७औँ मिनेटमा निराजन मगरले स्याङ्जाका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । निर्धारित समयसम्म थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा दुवै टोलीले पाँच–पाँच प्रहार गर्दा चार–चार गोल गरे । त्यसपछि सडन डेथमा गोरखाले ६–५ को जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । गोरखाका शुभम श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगितामा प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
शुक्रबारदेखि सुरु गर्ने तयारी भए पनि वर्षाका कारण स्थगित भएको प्रतियोगिता दुई दिनपछि आइतबार सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराईले गरेका थिए ।
आयोजक द राइजिङ ग्रुप चापाकोटका अध्यक्ष लालबहादुर घर्तीका अनुसार प्रतियोगितामा आठ टोली सहभागी छन् । सहभागी टोलीमा होराइजन क्लब वालिङ, भदौरे क्लब कास्की, ज्योतिपुञ्ज क्लब रामपुर पाल्पा, चापाकोट फुटबल क्लब (द राइजिङ ग्रुप), बौद्ध शान्ति फुटबल क्लब पोखरा, मर्दीखोला युनाइटेड क्लब पर्वत, हिल्ली फिल्डर्स गोरखा फुटबल क्लब र स्याङ्जा युथ क्लब छन् ।
युवामा फुटबलप्रतिको आकर्षण बढाउने र खेलमार्फत चापाकोटको पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष घर्तीले बताए ।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँसहित गोल्डकप, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
खेलाडीको खानपान, आवास, यातायात र पुरस्कारसहित प्रतियोगिता सञ्चालनमा करिब २३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।















