स्याङ्जामा खाना पकाउने एलपी ग्यासको आपूर्ति र बिक्री वितरणलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले विक्रेता, उपभोक्ता तथा सरोकारवालालाई विशेष निर्देशन जारी गरेको छ ।
पछिल्ला दिनमा जिल्लामा मागअनुसार ग्यास आपूर्ति हुन नसकेको र केही उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर संकलन गर्न थालेपछि बजारमा अभाव देखिएको भन्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मंगलबार जारी गरेको सूचनामा ग्यासको कृत्रिम अभाव हुन नदिन सबै पक्षले जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ । प्रशासनले विक्रेतालाई प्राप्त र बिक्री भएको ग्यासको दैनिक अभिलेख राख्न, उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा उपलब्ध गराइएको ग्यासको परिमाणसमेत अभिलेखीकरण गर्न र पहिले आएका ग्राहकलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको छ । यसअघि ग्यास नपाएका उपभोक्तालाई प्राथमिकता दिन पनि भनिएको छ ।
त्यस्तै, अन्य सामग्री खरिद नगरे ग्यास नदिने जस्ता गतिविधि नगर्न पनि विक्रेतालाई सचेत गराइएको छ । त्यस्ता गुनासा आएमा कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । उपभोक्तालाई पनि हल्लाको पछि लागेर आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न प्रशासनले आग्रह गरेको छ । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायतका व्यावसायिक संस्थालाई समेत ग्यास आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न अनुरोध गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले बजारमा सहज आपूर्ति कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने, अनावश्यक मौज्दात राख्ने वा वितरणमा अनियमितता गर्ने व्यक्ति वा व्यवसायीमाथि जुनसुकै बेला अनुगमन गरी प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ । उनले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगरी जिम्मेवार व्यवहार गर्न आग्रह गरेका छन् ।
प्रशासनले सूचनामा उल्लेख गरिएका व्यवस्थाको पालना नगरे ग्यास विक्रेता र उपभोक्ता दुवैलाई कानुनी दायरामा ल्याइने स्पष्ट गरेको छ ।















