स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोपमा पक्राउ परेका छन् । पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो ।
ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थापाले १ हजार १२३ मत प्राप्त गर्दै एमालेका रुद्रप्रसाद पोखरेललाई ३८७ मतान्तरले पराजित गरेका थिए ।
निर्वाचित भएपछि करिब १५ महिना वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थापा २०८० भदौ १५ गते स्वास्थ्य उपचार गर्न भन्दै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहक जिम्मेवारी दिएर सम्पर्कविहीन बनेका थिए । पछि उनी अमेरिका पुगेको खुलेको थियो ।
स्थानीय स्रोतका अनुसार थापाले केही व्यक्तिलाई पैदल मार्ग हुँदै अमेरिका पुर्याएको र केहीसँग रकम लिएर अलपत्र पारेको आरोप लाग्दै आएको थियो । करिब साढे दुई वर्षपछि उनी दुई महिनाअघि मात्रै नेपाल फर्किएका थिए ।
थापा विदेशमा रहेका बेला पनि पुतलीबजार नगरपालिकाले २०८० भदौदेखि २०८१ असारसम्मको सेवा–सुविधाबापत २ लाख ७६ हजार १९० रुपैयाँ भुक्तानी गरेको थियो । त्यसपछि भने २०८१ साउनदेखि उनको सेवा–सुविधा रोकिएको नगरपालिकाले जनाएको छ ।
नेपाल फर्किएपछि पुन: वडा कार्यालयमा सक्रिय देखिएका थापा अहिले भने मानव बेचबिखनसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् ।
प्रहरीले भने मुद्दासम्बन्धी थप तथ्य संकलन तथा अनुसन्धान जारी रहेको जनाएको छ ।














