स्याङ्जाको भीरकोट नगरपालिकाले आँधीखोला किनारको बगर क्षेत्रमा तर्बुजा खेतीको परीक्षण सुरु गरेको छ । कृषि क्षेत्रलाई विविध बनाउँदै किसानको आम्दानी बढाउने उद्देश्यले नगरपालिकाले पहिलो चरणका रूपमा नदी किनारको जमिन प्रयोग गरी नमूना खेती थालेको हो ।
भीरकोट कृषि तथा पशु विकास परियोजनाअन्तर्गत हेफरको सहकार्यमा तर्बुजा खेतीको सम्भाव्यता अध्ययन सुरु गरिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । “नदी किनारको माटो र हावापानी तर्बुजा खेतीका लागि अनुकूल देखिएकाले परीक्षणका रूपमा सुरु गरेका हौँ,” उनले भने, “नतिजा सकारात्मक देखिए व्यावसायिक उत्पादनमा विस्तार गर्ने योजना छ ।”
नगरपालिकाले पहिलो चरणमा किसानलाई बीउ, बेर्ना, कृषि उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराएको जनाएको छ । हाल भीरकोट नगरपालिका–१ स्थित आँधीखोला किनारको खेलमैदान क्षेत्र, वडा नम्बर ४ को फाँट, वडा नम्बर ५ को पकान क्षेत्र र वडा नम्बर ६ को एकुवार फाँट गरी करिब २० रोपनी जमिनमा तर्बुजा रोपिएको छ । यस कार्यक्रममा १८ जना किसान प्रत्यक्ष रूपमा संलग्न छन् ।
परियोजनामा संलग्न कृषि प्राविधिक अनिश अर्यालका अनुसार अहिले रोपिएको तर्बुजा जेठ मसान्तसम्म उत्पादन लिन सकिने अनुमान छ । उनले यो खेती जिल्लामै पहिलो पटक नमूना रूपमा सुरु भएकाले किसानले नयाँ प्रविधि सिकेर भविष्यमा व्यावसायिक विस्तार गर्न सक्ने बताए । “उत्पादन र बजार व्यवस्थापन दुवै पक्ष सकारात्मक भए यो खेती भीरकोटका लागि नयाँ सम्भावना बन्न सक्छ,” उनले भने ।
परियोजनाअन्तर्गत ‘लक्ष्मी’ र ‘सरस्वती’ जातका तर्बुजा लगाइएको छ । यी जात स्थानीय हावापानीमा राम्रो उत्पादन दिने अपेक्षा गरिएको छ । उत्पादन भएपछि किसानले आफैं बजार व्यवस्थापन गर्नेछन् भने आवश्यक परे नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नगरपालिकाले तर्बुजाखेतीसँगै सिम्ला मिर्च, अकबरे खुर्सानी तथा बेमौसमी तरकारी उत्पादनलाई पनि प्रोत्साहन गरिरहेको जनाएको छ । परम्परागत खेतीमा सीमित किसानलाई नगदे बालीतर्फ आकर्षित गर्दै कृषि उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।
स्थानीय किसानहरू पनि नयाँ खेतीप्रति उत्साहित देखिएका छन् । नदी किनारको बगर जमिन प्रायः बाँझै रहने अवस्थामा त्यसलाई उत्पादनमूलक बनाउने प्रयासले सकारात्मक संकेत दिएको उनीहरूको भनाइ छ । परीक्षण सफल भए तर्बुजा खेती अन्य किसानमा पनि विस्तार हुने अपेक्षा गरिएको छ ।














