स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित नवग्रह मन्दिर परिसरमा महाशिवरात्रिको अवसर पारेर आयोजित प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा गल्याङ नगरपालिका–२ को रामनदी गुरुकुल विद्यालयले प्रथम स्थान हात पारेको छ ।
पालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाका १३ विद्यालयको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिँदै गुरुकुलले १२ विद्यालयलाई पछि पार्दै नगद २५ हजार रुपैयाँसहित उपाधि जित्न सफल भयो । अर्जुनचौपारी–२ को अमरज्योति मावि, लामडाँडा द्वितीय बन्दै १६ हजार रुपैयाँ प्राप्त गर्यो भने अर्जुनचौपारी–१ को अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी तृतीय स्थानमा रहँदै १० हजार रुपैयाँ हात पार्न सफल भयो ।
प्रतियोगितामा गल्याङ, भीरकोट, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिका क्षेत्रका विद्यालयले भजनमार्फत आ–आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गरेका थिए । धार्मिक वातावरणबीच विद्यार्थीहरूले प्रस्तुत गरेका भजनले दर्शकलाई आध्यात्मिक भावनामा डुबाएको थियो ।
कार्यक्रमलाई अझ आकर्षक बनाउन चर्चित लोक तथा भजन गायक पशुपति शर्माले विशेष प्रस्तुति दिएका थिए । उनले भगवानप्रति समर्पित भजनसँगै लोकप्रिय गीतहरू प्रस्तुत गर्दा मन्दिर परिसरमा उपस्थित भक्तजन झुम्मिएका थिए । राष्ट्रिय कलाकार घनश्याम रिजाल, अर्जुन गैह्रे र गोपाल जिटीले पनि सांगीतिक प्रस्तुति राख्दै माहोल तताएका थिए ।
भजन प्रतियोगितासँगै भजन कन्सर्ट, सांगीतिक प्रस्तुति तथा शिव ताण्डव डिजे साँझसमेत आयोजना गरिएको थियो । गाउँपालिकाका अनुसार कार्यक्रमले वृद्धवृद्धा मात्र नभई युवा र बालबालिकालाई पनि आध्यात्मिक तथा सांस्कृतिक गतिविधिमा आकर्षित गरेको छ ।
पञ्चकन्या तथा जलवराह धार्मिक वन, केटीचौर (सिमलचौर) मा अवस्थित नेपालकै पहिलो नवग्रह मन्दिरमा यस अवसरमा नौ लाख ९९ हजार ९ सय ९९ दिप प्रज्वलन गरिएको थियो ।
करिब आठ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक वनभित्र नवभुज आकारको २७ फिट अग्लो नवग्रह मन्दिर निर्माण गरिएको छ । यहाँ रहेको सौर्यमण्डलीय ब्रह्माण्डको मूर्ति भने प्रत्येक वर्ष गणेश चतुर्थीका दिन मात्र सर्वसाधारणका लागि अवलोकन खुला गरिने र सो दिन पालिकास्तरमै सार्वजनिक बिदा दिइने जनाइएको छ ।
नवग्रह मन्दिर निर्माणसँगै अर्जुनचौपारी धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनिन थालेको स्थानीयबासीको भनाइ छ ।














