स्याङ्जाको पुतलीबजार नगरपालिका–८ थाम्काभिरस्थित खरबारीमा डढेलो लगाएको आशंकामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
डढेलो लगाएको आशंकामा पुतलीबजार नगरपालिका–८ निवासी ४५ वर्षीया जमुना कुँवरलाई अरौदी क्षेत्रबाट नियन्त्रणमा लिइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
आगलागीको घटनाबारे अनुसन्धान गर्ने क्रममा नियन्त्रणमा लिइएकी महिलामाथि थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सोमबार दिउँसो आगो लागेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरीको सहयोगमा स्थानीयवासीको सक्रियतासँगै साँझ मात्र आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आगलागीबाट खरबारी क्षेत्रमा क्षति पुगेको छ भने मानवीय क्षति भएको छैन ।












