स्याङ्जाको पुतलीबजार नगरपालिका–३ पुतलीखेतमा निर्माण सुरु गरिएको नेवार (नेवा:) संग्रहालय लामो समयदेखि अलपत्र अवस्थामा छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित थालिएको निर्माण कार्य १० वर्ष बितिसक्दा पनि आवश्यक बजेट नपुग्दा अधुरै रहेको हो ।
नेवा: गुठी पुतलीबजारको अगुवाइमा करिब दुई करोड ५९ लाख रुपैयाँको लागत अनुमानसहित संग्रहालय निर्माण सुरु गरिएको थियो । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म करिब ८५ लाख रुपैयाँ खर्चेर भौतिक संरचना तयार भए पनि अन्य आवश्यक पूर्वाधार बन्न सकेका छैनन् । निर्माण पूरा गर्न अझै करिब एक करोड रुपैयाँ आवश्यक पर्ने गुठीले जनाएको छ ।
नेवार समुदायको कला, संस्कृति, रीतिरिवाज र पहिचान जोगाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संग्रहालयको अवधारणा अघि सारिएको हो । करिब सात रोपनी क्षेत्रफलमा फैलिएको यस परिसरमा पाँच रोपनी सार्वजनिक जग्गा समावेश छ । स्थानीय मोतिकुमारी श्रेष्ठ र पदमनारायण श्रेष्ठले झण्डै दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको गुठीले जानकारी दिएको छ ।
हाल दुई तले भवनको संरचना बनेको छ । तल्लो तलामा करिब पाँच सय जना अट्ने सभाहल निर्माण गरिएको छ भने माथिल्लो तलामा संग्रहालय राख्ने योजना छ । खानेपानी र शौचालयको सुविधा भए पनि प्रदर्शनी कक्ष, सामग्री व्यवस्थापन र अन्य पूर्वाधार नबन्दा भवन प्रयोगविहीन बनेको छ ।
गुठीका पूर्वअध्यक्ष देबेन्द्रकुमार श्रेष्ठका अनुसार सरकार र समुदायको सहकार्यमा बनाइएको संरचना उचित व्यवस्थापन नपाउँदा दिनानुदिन जीर्ण बन्दै गएको छ । संघ, प्रदेश र स्थानीय तहको सरकार बनेपछि पनि कुनै तहले स्पष्ट जिम्मेवारी नलिँदा समस्या थपिएको उनको गुनासो छ ।
पुतलीबजार नगरपालिका, नेपाल पर्यटन बोर्ड र सामाजिक विकास कार्यालयबाट वार्षिक पाँचदेखि सात लाख रुपैयाँ सहयोग आउने गरेको भए पनि त्यो रकम मर्मतसम्भार र ससाना काममै सकिने गरेको गुठीले जनाएको छ । संग्रहालय सञ्चालनयोग्य बनाउन एकमुष्ठ बजेटको आवश्यकता रहेको गुठीको भनाइ छ ।
संग्रहालय परिसरलाई नेवार समुदायसँगै अन्य जातजातिको सांस्कृतिक कार्यक्रम, सामूहिक चाडपर्व र लोपोन्मुख परम्परा जस्तै बेलविवाह जस्ता संस्कार प्रदर्शन गर्ने थलोका रूपमा विकास गर्ने योजना छ ।
गुठीका सल्लाहकार अनन्तकुमार श्रेष्ठले सिद्धार्थ राजमार्ग हुँदै पोखरा र लुम्बिनी आवतजावत गर्ने पर्यटकलाई लक्षित गरी संग्रहालय निर्माण थालिएको बताए । संग्रहालय सञ्चालनमा आएमा पुतलीबजारमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहज हुने उनको विश्वास छ ।
समुदायको निरन्तर प्रयास हुँदाहुँदै पनि पर्याप्त सरकारी चासो र लगानी नपुग्दा सांस्कृतिक पहिचान संरक्षणको यो प्रयास अधुरो बनेको स्थानीयको गुनासो छ । आवश्यक सहयोग मिलेमा संग्रहालय छिट्टै सम्पन्न गर्न सकिने गुठीले जनाएको छ ।














