चीन र भारतसँग सिधा पहुँच जोड्ने गण्डकी–लुम्बिनी प्रदेशको सङ्गम कालीगण्डकी नदीमा निर्माणाधीन आधा दर्जन पुल तोकिएको म्यादमै सकिएका छैनन् । दुई देश र दुई प्रदेशसँग प्रत्यक्ष सम्बन्ध राख्ने यी पुल ठेकेदारले पटक–पटक म्याद थप्दै १४ वर्षसम्म पनि अधुरा राखेका छन् ।
कालीगण्डकीमा पाल्पा जोड्ने पाँच र गुल्मी जोड्ने एक गरी छ वटा पुल निर्माण भइरहेका छन् । पुल सेक्टरले निर्माण थालेका पाँच र पाल्पा सडकमार्फत एक पुलको काम म्याद गुज्रिएर अघि बढाइएको हो । स्याङ्जाको चापाकोट नगरपालिका–८ दामाचौर र पाल्पाको रामपुर–६ हुँदै भारतीय सीमा सुस्तासम्म जोड्ने ट्रस पुलमा सबैभन्दा बढी ढिलाइ देखिएको छ । १४ वर्ष बित्दा पनि यो पुलको करिब ८० प्रतिशत मात्रै काम सकिएको छ ।
२०६८ असार २६ गते एमएस इलाइट एसबिए जेभीले तीन वर्षभित्र काम सक्ने गरी दामाचौर पुलको ठेक्का लिएको थियो । भ्याटबाहेक १५ करोड ६८ लाख रुपैयाँमा सम्झौता भए पनि डिजाइनअनुसार नदीको बीच भागमा पिल्लर निर्माणमा समस्या आएपछि काम रोकिँदै–चल्दै आएको छ । यो अवधिमा पाँच पटकसम्म म्याद थप भइसकेको छ ।
यस्तै, २०७४ मङ्सिर २२ गते एमएस सपना–महादेव खिम्ती–हिरा जेभीले ठेक्का लिएको बाँसटारी पुल आठ वर्ष बित्दा पनि ४० प्रतिशत मात्र बनेको छ । २०० मिटर लम्बाइको यो पुल २४ करोड ६० लाख रुपैयाँमा सम्झौता भए पनि पाँच पटक म्याद थप भइसकेको छ ।
कालीगण्डकीकै राम्दीमा निर्माणाधीन देशकै नमुना भनिएको पुलको करिब ८० प्रतिशत काम सकिएको छ । थाइल्यान्डका डिजाइनरले तयार पारेको सिएफएसटी स्टिल ट्युब आर्क ब्रिज नेपालमै पहिलो र एक स्पानको हो । १२० मिटर लम्बाइको यो पुल २०७९ असार ३० गते हिम सगरमाथा प्रालिले तीन वर्षमा सक्ने गरी २७ करोड ७१ लाख रुपैयाँमा ठेक्का लिएको हो ।
बेल्टारी पुलमा पनि सम्झौताको दुई वर्ष बित्दा जम्मा ५० प्रतिशत काम भएको छ । गौरी पार्वती न्यु टेक्निकल जेभीले २०७७ भदौ १ गते १५ करोड ३९ लाख रुपैयाँमा तीन वर्षे सम्झौता गरेको थियो । सेतीवेणी पुलको अवस्था झन् कमजोर छ । म्याद सकिएको दुई वर्ष बित्दा ३० प्रतिशत मात्र काम भएको छ । स्याङ्जा र गुल्मी जोड्ने १०० मिटर लामो यो पुल यामजिनी–राजेश्वरी जेभीले २०७८ असार ३१ गते दुई वर्षमा सक्ने गरी ठेक्का लिएको थियो । अहिले तेस्रो पटक म्याद थपेर २०८३ भदौ १८ सम्म पुर्याइएको छ ।
चिउरीबोट–अर्बेनी पुलको अवस्था पनि उस्तै छ । म्याद गुज्रेको डेढ वर्ष बित्दा ३० प्रतिशत मात्र काम सकिएको छ । इलाइट–यामजिनी–राजेश्वरी जेभीले १८ करोड ६८ लाख रुपैयाँमा तीन वर्षे सम्झौता गरेको १८० मिटर लामो यो पुल दोस्रो पटक म्याद थपेर २०८३ असार ३० सम्म पुर्याइएको छ ।
वर्षौँसम्म पुल नबन्दा कालीगण्डकी आसपासका बासिन्दाले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ठेकेदार र सरोकारवाला निकायको ढिलासुस्तीले रणनीतिक महत्वका यी पुल कहिले पूरा हुन्छन् भन्नेमा अझै अन्योल कायमै छ ।














