आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई औपचारिक रूप दिन स्याङ्जामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार स्याङ्जा पुतलीबजार नगरपालिका -१ स्थित जिल्ला समन्वय समितिको भवनमा एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो ।
जिल्ला अदालत स्याङ्जाका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय स्थापना भएसँगै कार्यालयमा निर्वाचन कार्यतालिका समेत प्रकाशित गरिएको छ ।
कार्यालय स्थापना भएसँगै उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, सामग्री व्यवस्थापन तथा भण्डारण, प्रशासनिक काम–कारबाहीदेखि मतगणनासम्मका सम्पूर्ण कार्य यहीँबाट हुने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत गौतमले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउने दायित्व सबैको साझा भएको उल्लेख गरेका छन् । “निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको साथ र सहयोग आवश्यक छ,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पनि निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका सह-सचिव एकबहादुर(रमेश) गोदारले निर्वाचन सफल बनाउन पत्रकार तथा सञ्चारकर्मीको जिम्मेवारी महत्वपूर्ण रहेको बताउँदै स्वतन्त्र र निष्पक्ष पत्रकारिताप्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । निर्वाचन आयोगका अनुसार दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा एक लाख २२ हजार ४६४ पुरुष, एक लाख २६ हजार ३५१ महिला मतदाता र एक अन्यसहित कुल दुई लाख ४८ हजार ८१६ मतदाता छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा ६४ हजार ७७५ पुरुष, ६६ हजार ११० महिला र एक जना अन्यसहित एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर २ मा ५७ हजार ६८९ पुरुष र ६० हजार २४१ महिला गरी एक लाख १७ हजार ९३० जना मतदाता रहेका छन् ।
जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा ५६ मतदानस्थललाई अति संवेदनशील, ७१ संवेदनशील र ७२ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र तोकिएका छन् ।














