स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङ्खोलामा निर्माण गरिएको सुन्तला संकलन केन्द्र स्थापना भएको लामो समय बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । झण्डै ५५ लाख रुपैयाँ खर्चेर बनाइएको केन्द्र छ वर्षदेखि सुनसान अवस्थामा छ ।
स्थानीय सुन्तला उत्पादकको मागअनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाको पहलमा केन्द्र निर्माण गरिएको थियो । करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको यो केन्द्र १० वर्षका लागि जग्गा भाडामा लिएर बनाइए पनि उद्देश्यअनुसार सञ्चालन हुन सकेको छैन ।
आर्थिक वर्ष २०७३/०७४ मा ३० लाख रुपैयाँ बजेटबाट निर्माण सुरु गरिएको केन्द्र कृषकको १५ प्रतिशत लागत साझेदारीमा २०७५/०७६ मा सम्पन्न भएको हो । तर स्थापना भएको छ वर्ष बित्दा पनि प्रयोगमा नआउँदा कार्यक्रमले वार्षिक ६० हजार रुपैयाँ भाडा तिर्दै आएको छ । ११ समूहमा आवद्ध करिब २७५ कृषकलाई लक्षित गरेर केन्द्र बनाइएको कार्यक्रमले जनाएको छ ।
कार्यक्रम प्रमुख अजय अधिकारीका अनुसार जिल्लामा उत्पादन हुने सुन्तलामध्ये करिब २० प्रतिशत यही क्षेत्रबाट आउने गर्छ । “उत्पादन भएको सुन्तला संकलन गरी ग्रेडिङ गरेर बिक्री सहज बनाउने लक्ष्य थियो,” उनले भने, “तर कृषकले केन्द्रको सदुपयोग नगर्दा लामो समयदेखि प्रयोगविहीन बनेको छ ।”
राङ्खोला, बरजा, कान्छीबजार, हलहले, धोबादी, सुम्रेखोला र जैसीडाँडाका कृषकका लागि बनाइएको केन्द्र अहिले वेवारिसे जस्तै भएको छ । सुन्तला ठेकेदारले बगैंचाबाटै खरिद गरी लैजाने चलन बढेपछि कृषक आफैंले संकलन केन्द्रसम्म ल्याउने अभ्यास हुन सकेको छैन ।
कार्यक्रमका प्राविधिक सहायक इन्द्र सुबेदीले कृषकको निवेदन र लागत साझेदारीको प्रतिबद्धतापछि मात्रै केन्द्र निर्माण प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार भवन नियमित प्रयोगमा आएको भए आधुनिक ग्रेडिङ मेसिन जडान गर्ने तयारी थियो । तर प्रयोगविहीन बन्दै गएपछि थप लगानी रोकिएको छ ।
अहिले सो संकलन केन्द्र सुन्तला ग्रेडिङभन्दा बढी समूह बैठक, भोजभतेर, पिकनिक र ब्याटमिन्टन खेल्ने स्थानका रूपमा प्रयोग हुन थालेको छ । स्थानीय कृषक मुक्ति अधिकारीले राज्यको लाखौं लगानीबाट बनेको भवन प्रयोगमा नआउँदा दुःख लागेको बताए । “भवन मात्रै बनेर हुँदैन, आवश्यक औजार र बजार व्यवस्थापन नहुँदासम्म केन्द्र चल्न सक्दैन,” उनले भने ।
औजार जडान र खरिद–बिक्री प्रणालीमा सुधार नल्याएसम्म राङ्खोलाको सुन्तला संकलन केन्द्र कागजमै सीमित रहने स्थानीयको गुनासो छ ।














