बढ्दो लैङ्गिक हिंसाका घटनाबीच गण्डकी प्रदेश सरकारअन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले चापाकोटमा दुईदिने आत्मरक्षा तालिम सम्पन्न गरेको छ । समाजमा बालिका र किशोरीमाथि हुने विभिन्न प्रकारका हिंसा, दुर्व्यवहार र जोखिम कम गर्न लक्ष्य राखी तालिम चापाकोट सिटीहलमा सञ्चालन गरिएको हो ।
तालिममार्फत सहभागी किशोरीलाई एक्लै हिँडडुल गर्ने बेला वा मेलापात, घाँसदाउरा जाँदा पर्न सक्ने जोखिममा कसरी प्रतिकार गर्ने भन्ने सीप सिकाइएको हो । तालिममा गुड टच–ब्याड टच पहिचान, नेतृत्व विकास, साइबर अपराधबाट बच्ने उपायदेखि शारीरिक तथा मानसिक सुरक्षाका चरणहरूमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रम लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आत्मरक्षा तालिमले महिलामाथि समाजले बनाएका पुराना सीमाना तोड्न मद्दत पुर्याउने बताइन् ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले तालिमले किशोरीलाई सुरक्षा सीपसँगै आत्मविश्वास बढाउन सहयोग गर्ने बताए । प्रहरी नायब उपरीक्षक दिपक मल्लले लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना र कानुनी प्रक्रिया दुवैमा जोड दिनुपर्ने धारणा राखेका थिए ।
कराँते प्रशिक्षक तास्बिन पुनको टोलीले प्रयोगात्मक आत्मरक्षा सीप सिकाएको थियो । प्रशिक्षक आयुष्मा काफ्लेले गुड टच–ब्याड टचबारे प्रशिक्षण दिइन् भने बिना रेग्मीले नेतृत्व विकास सम्बन्धी सत्र सञ्चालन गरिन् ।
चापाकोट नगरक्षेत्रका विद्यालय तथा जिल्ला बाल सञ्जालका ६० जना बालिका र किशोरी तालिममा सहभागी भएका थिए ।














