स्याङ्जाबाट लागूऔषधसहित पोखराका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा उपमहानगरपालिका वडा नं. – २७ बस्ने २६ वर्षीय अजित परियार रहेका छन् ।
वालिङ् नगरपालिका – १० भकुण्डेस्थित सिद्धार्थ राजमार्गमा सवारी चेकजाँचका लागि खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
बिहिबार दिउँसो सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा २ ख १५१२ नम्बरको हाइसमा सवार परियारको साथबाट अवैध लागूऔषध फेला परेकोले पक्राउ गरिएको डिएसपी चौधरीले बताए ।
उनको साथबाट आईपिल सात एम्पुल, फेनरागन सात एम्पुल र डाईजेपाम सात एम्पुल गरी २१ एम्पुल अवैध लागूऔषध फेला परेको डिएसपी चौधरीले जानकारी बताए ।
पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।