- स्टल व्यापारी सडकतिर निस्केर बेच्न बाध्य
- पोखरा महानगरले स्टलका कृषकका स्टक माला र फूलको क्षतिपूर्ति दिने, प्रतिमाला २० रुपैंया
पोखरा । गत वर्ष तिहारमा एउटै मालाको १ हजार, ११ सय तिर्नुपर्दा उपभोक्ता चर्को मारमा परे । यस वर्ष ठीक उल्टो २० रुपैंया प्रतिगोटा माला बजारमा पाइयो, फूल फूलाउने कृषकहरु मारमा परे । लगानीसमेत नउठ्ने गरी डुबे ।
गएको वर्ष पोखराबासीले फूलको अभावमा चर्को मूल्य तिर्न बाध्य भएकै कारण पोखरा महानगरले सयपत्री फूल मेला नै आयोजना गर्यो । तामझामपूर्ण समुद्घाटन समारोह भयो । कृषकहरु पनि निकै हौसिए । बारीमा फुलाएका फूलहरु सडकपेटीमा बेच्न परेन, स्टलमै व्यवस्थित तबरले बेच्न पाइयो भनेर मख्ख थिए । तर, महानगरले राम्रो उद्देश्यका साथ मेला गरेपनि व्यवस्थापनमा चुक्यो र स्टलसम्म उपभोक्ता पुग्नै सकेनन् । तिहार सकियो तर स्थानीय कृषकका बारीका सयपत्री फूल एक तिहाई पनि सकिएन ।
पोखरा महानगरपालिकाले सिद्धार्थ चोकमा एउटा निजी कम्प्लेक्स भाडामा लिएर स्थानीय फूलका दर्जन जति स्टल राखेको थियो । महानगरपालिकाले श्री कम्प्लेक्ससँग समझदारी गरेर रैथाने हाटबजार तथा सयपत्री फूल मेला–२०८० कार्तिक २५ देखि २८ गतेसम्म गरेको थियो । यी स्टलमा फूल बेच्न बसेकाहरु निराश हुँदै उठेका छन् ।
महानगरले निःशुल्क रुपमा स्टल उपलब्ध गराएर राम्रो काम गरेपनि ठाउँको प्रचार गर्नुपर्ने जति नगरेको, नाकामा कडाई नगर्दा भारतबाटसमेत फूलमाला आएको, बाहिरी जिल्लाले नै पोखरा कब्जा गरेको उनीहरुको गुनासो छ । महानगरले ठूलाको प्रति थुँगा ५ रूपैयाँ मूल्य तोकेको थियो । तर, मेलामा फूल नबिकेपछि किसानले घटाएर एक थुंगाको एक रुपैंया नै मूल्य राख्दा पनि फूल बिकेन ।
सरु जोशी र सुनिता श्रेष्ठ (अमाजु बुहारी) ले पोखरा १४ चाउथेमा वार्षिक ५ लाख बुझाउने गरी जग्गा भाडामा लिएका छन् । वर्षेनी उनीहरुले मौसमी तरकारी र फूल उत्पादन गर्दै आएका छन् । गत वर्ष मनग्गे आम्दानी कमाएका उनीहरुले यस वर्ष फूलमा नसोचेको घाटा ब्यहोरे ।
भाइटीकाको अघिल्लो दिन मंगलबार पोखराको महेन्द्रपुल, चिप्लेढुंगा बजारमा सडकपेटीमै खुलम्खुल्ला फूल व्यापार भइरहेको थियो । त्यहाँबाट एक मिनेट समय लाग्ने सयपत्री फूल मेलामा पुग्दा उनीहरुको स्टलमा फूलको ठूलो चाङ थियो र केही माला उन्दै थिए ।
छोरीहरुलाई हातमा माला लिएर सडक चोकमा पठाउथे र बेचेर फर्केपछि पुनः चिप्लेढुंगा, मानवअधिकार चोक पठाउथे । त्यहाँ फुटपाथमा सडक व्यवसायीले माला नै बेचिरहेका थिए । तीन वटा भ्यानमा माला पनि बेचिरहेको देखिन्थ्यो । फूलको गुणस्तर स्टलको जति थिएन तर पनि स्टलमा ग्राहक पुगेकै थिएनन् । फूल मेला चलिरहेको बारे धेरै बेखबर भए कि ? भन्ने उनीहरुलाई लाग्छ ।
सरु भन्छिन्– ‘यो त कुना जस्तै भयो नि । पसलहरु पार गरेर मात्र बीचतिर स्टलमा पुग्न सकिन्छ । हामीलाई त अरुलाई थाहै भएन कि जस्तो पनि लाग्छ ।’ सुनिता थप्छिन्– ‘यहाँ यति राम्रा फूलहरु छन् तर बिक्दैनन् । बाहिर जस्तो पनि बिकिरहेको छ । यसपटक बर्बाद भयो । बारीका आधा फूल टिपेकै छैन । टिपेर ल्याएको पनि बिकिरहेको छैन ।’ बिऊको मूल्य, खेतालोको हिसाब, आफ्नो श्रम सबै खेर गएको अमाजुबुहारी बताउँछन् ।
चाउथेकै दिपेश कोइरालाले ६ रोपनीमा फूल लगाए तर १ रोपनीको फूल मात्र टिप्न पाए । १० वर्षदेखि फूल खेतीमा लागेका उनले यस वर्ष नै तितो अनुभव बटुले ।
महानगरले प्रतिमाला २ सय तोकेपनि १ सयमा ३ वटा माला बेच्न बाध्य भएको पोखरा २१ की श्रीधरा अधिकारी बताउँछिन् । उनी भन्छिन्– ‘मेरो बुवाले सकिनसकि लगाउनुभएको फूल हो यो । बजार नै पाएन । बरु सडकतिरै बेच्न पाएको भए सबै विक्री हुन्थ्यो । गत वर्षजस्तो नभएपनि हाम्रो लागत खर्च त उठ्थ्यो । तामझामले उद्घाटन गरेको हो । त्यसैगरी यसको प्रचार गरेको भए यहाँ मान्छे पक्कै आउँथे । तर, व्यवस्थापन गरेनन् । १० प्रतिशत पनि यो मेला सफल भएन ।’
पोखरा महानगरपालिका–२६ सुन्दरीबजारका केदार विश्वकर्माले ३ रोपनी जग्गामा लगाइएको फूलबाट ४ लाखसम्म आम्दानी हुने अपेक्षा गरेकोमा ५० हजारजति हातमा परेको सुनाए ।
स्टलमा एक थुप्रो फूल अगाडि भेटिएका उनले भने – ‘बाहिर व्यापार भएको छ । यहाँ फिटिक्कै भएको छैन,’ उनले महानगरलाई सुझाए, ‘महानगरले यहाँ स्टल राखिसकेपछि बाहिरको फूल हटाउनुपर्थ्यो । अर्को वर्षबाट यो सुधार्नुपर्छ ।’ पोखरा बाहिरबाट फूल आउँदा पनि आफूहरूको फूल नबिकेको उनको गुनासो छ ।
पोखरा काहुँखोलामा फूल खेती गर्दै आएका शंकर गुरूङ सडकपेटीमा बेच्न पाएका भए सबै फूल बेचिसक्ने बताउँछन् । महानगरको राम्रो पहल भएपनि सडकपेटी र भ्यानमा फूल बेच्न नरोकेको, रैथाने फूलको मेला छ भनेर प्रचारप्रसार हेतु माइकिङ नगर्दिएको उनको गुनासो छ ।
पोखरा रिठ्ठेपानी इन्द्रप्रसाद शर्माले पनि २ रोपनी खेतमा फूल फूलाए । तर, एक चौथाई पनि विक्री गर्न नसकेको गुनासो पोखे । महानगरले किसानलाई एकैठाउँमा ल्याएकोमा खुशी भएपनि व्यवस्थापन नभएको भन्दै अर्को वर्ष यसलाई सुधार गर्न सुझाए ।
तीन सय किलो सयपत्री फुलाएका पोखरा–२८, कालिकाका सोबितबहादुर अधिकारीले डेढ सय किलोमात्र बेच्न सके । लागत उठे पनि फूल बेचेर नाफा कमाउन नसकेको उनको भनाई छ ।
कालिकाकै लक्ष्मी अर्याल खत्रीले गत वर्ष कोदोबारीको डिलमै फूलाएको फूलले २० हजार आम्दानी दिएपछि हौसिएर ३ रोपनी जग्गामा ढकमक्क सयपत्री फुलाईन् । यतिबेला न फूलले बजार पायो, न अरु नै अन्न रोपियो । एक चौथाइ फूल पनि टिपेर नसकिँदै तिहार सकियो । ५० हजार रुपैयाँ लगानी उठाउन पनि उठाउन धौधौ भयो ।
महानगर भन्छः माग भन्दा आपूर्ति बढी भयो, बाहिरी फूल भित्रिएर स्थानीय कृषक मर्कामा पर्नु दुःखद
पोखरा महानगरपालिकाले सघाएरै १६० किसानले सयपत्री फूलखेती गरे । १६५ रोपनी क्षेत्रफलमा फूल खेती गर्न अनुदान दिएको थियो । महानगरले ५ वटा किसान बजार र एउटा सहकारी संस्थामा पनि स्थानीय फूल बिक्रीको वातावरण मिलाएको थियो ।
सिद्धार्थचोकसहित विरौटा, कुँडहर, ठुली पोखरी, अमरसिंहचोक, कोलपाटन र बेगनासमा स्थानीय उत्पादन सयपत्रीको बिक्रीको व्यवस्था मिलाएको पनि थियो ।
फूलको ग्रेडिङ अनुसार मुल्य पनि तोक्यो ।‘ए’ ग्रेडको सयपत्री फूलको थुंगालाई ५ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । महानगरपालिकाले किसानसँग सल्लाह गरेर प्रति माला दुई सय र प्रति किलो ४ सय रूपैयाँ मूल्य निर्धारण गरेको थियो ।
महानगरपालिकाले स्थानीय फूल बिक्री गर्न पहल भने गरेको हो । तर, बजारमा मागभन्दा फूलको उत्पादन र आपूर्ति बढी हुँदा फूल बिक्री नभएको अनुभव किसानले गरेको महानगरपालिकाको भनाई छ ।
अघिल्लो साल पोखरामा २ सयका हाराहारीमा फूल किसान भएको अनुमान गरिएकोमा गत वर्ष उच्च माग र मनग्गे फाइदाका कारण पोखरामै ५ सय बढी फूल किसान पुगेको अनुमान महानगरको छ ।
‘हामीले अहिले मेला गरेको ठाउँ निकै व्यवस्थित बजार हो,’ महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले भने, ‘बाहिर अरू पालिकाको फूल पनि पोखरा नै आउने, यहाँको फूल पनि धेरै हुने भएकाले माग र आपूर्तिको सन्तुलन नमिलेको हो । फूल धेरै भयो, माग कम भयो ।’
चाडबाडको बेलामा फूल बेच्न दिइएन भन्ने प्रश्न उठ्ने भएपछि सडक व्यापारीलाई निरुत्साहित गर्न नसकिएको कडरियाले बताए । तर, आउँदो वर्षदेखि यसमा ध्यान दिइने उनको भनाइ छ ।
स्टलबाट विक्री नभएको मालाको प्रतिगोटा २० महानगरले नै दिने
अहिले ६ हजार ५ सय माला बिक्री नभएको हिसाबसहित महानगरपालिकाले किसानलाई प्रति माला २० रूपैयाँ दिँदैछ । यसो हुँदा मेलामा स्टल राखेका किसानले कुल एक लाख ३० हजार रूपैयाँ महानगरबाट प्रोत्साहनबापत पाउने छन् ।
किसानको बारीमा नै रहेको फूल र बिक्री नभएको माला सुरक्षित राख्न महानगरपालिकाले आग्रह गरेको छ । ‘सुकेका फूल गुणस्तर हेरी प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्ममा खरिद गर्ने व्यवस्था गरिएको छ’, कडरियाले भने ।
स्थानीय फूललाई प्राथमिकता दिँदै मूल्य तोकेर स्टलको व्यवस्थासमेत गरेको महानगरले बाहिरबाट आयातमासमेत प्रतिबन्ध लगाएको थियो । तर, सडकपेटीमा फूल बेच्नेहरु छ्यापछ्याप्ती भेटिए । भारतीय फूलसमेत बजार भित्रिएको स्थानीय किसानको आरोप छ ।
भारतीय फूल आयात रोक्नुपर्छ
पोखरामा नक्कली प्लास्टिकका फूल बेच्न प्रतिबन्ध लगाउँदै महानगरबाहिरका फूल आयातमा बन्देज लगाउने घोषणा गर्यो । तर, बाहिरी जिल्लाको मात्रै होइन, भारतबाटसमेत फूल आएको यहाँका किसानहरुको गुनासो छ ।
भारतीय फूल आयातमा रोक लगाउने र स्थानीय फूलबाटै आत्मनिर्भर हुने नीति पोखरा महानगरले लिएपनि निगरानी र नाकामा चेकजाँच नहुँदा गफमै सीमित भएको उनीहरुको आरोप छ ।
भारतीय फूल बजारमा छ्यापछ्याप्ती भएको र स्थानिय उत्पादन चाहिँ स्टलमा थुप्रेर बस्दा कृषकहरु मारमा परेको किसानहरु बताउँछन् ।
भारतबाट आएको फूलको माला ५०÷६० रुपैयाँमा घरघरमै पुर्याइँदा पैसा खर्च गरेर स्टलसम्म आइनपुगेको र गत वर्ष १ हजारमा किनेको सम्झेर पनि हतारमा किनेको उनीहरुको अनुमान छ ।
नयाँबजारकी सुचिता थापाले १२० रुपैंयामा एक झोला फूल बुधबारका लागि सोमबार नै किनेर राखिन् । ‘गएको वर्ष २ हजारमा २ वटा माला किनेको । अहिले फूल घरमै आयो, भैयासँग किनेँ, तर फूल स्थानीय नरहेछ, भोलिपल्टै बिग्रिन थाल्यो । थुंगा पनि सानासाना थिए ।’ उनले भनिन्– ‘मंगलबार सिद्धार्थचोककै स्टलमा गएर २ वटा माला एक सय रुपैंयामा आफैले उनेर किनेँ । सयमा तीन वटा भनेका थिए, आफूखुशी २ वटाको सय दिएँ । किसानहरुको हालत बिजोक देखेँ ।’
पोखरा महानगर आर्थिक विकास महाशाखाका प्रमुख कडरियाले भने भारतीय फूलको हस्तक्षेप रोक्न नसकिएको स्विकारेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘देश आत्मनिर्भर छ भन्दै गर्दा सयपत्री फूल आयात गर्नु दुर्भाग्य’
भारतबाट आउने फूललाई रोक्ने सामथ्र्य पालिकाको क्षमताभित्र नरहेको कडरियाको भनाई छ । रोक्ने काम नेपाल सरकारकै भएको र पालिकाले पूर्ण रुपमा रोक्न नसक्ने उल्लेख गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-