पोखराबाट बिराटनगर बोलाएर फोटोग्राफी सम्बन्धी सामान चोरी गर्ने दुई जना झापाका युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । फोटोग्राफीका लागि पोखराबाट विमल कार्की र साजन खत्रीलाई मोरङको बुढीगंगामा ‘फेशन शो’ छ भनेर बोलाएर झापा अर्जुन धाराका अनुप ढकालले सामान चोरी गरेका थिए ।
पोखरा २० का कार्कीले पोखरामा योर डिजिटल फोटो गुड्स सेन्टर सञ्चालन गर्दै आएका छन् । पोखरा ९ का खत्री लेकसाइड स्थित रेष्टुरेण्टमा फोटोग्राफर छन् भने गण्डकन्यूजमा पनि आबद्ध छन् । खत्री फेशन एवं पोट्रेट फोटोग्राफरका रुपमा चिनिन्छन् ।
चोरी तथा लुटपाटमा संलग्नले नयाँनयाँ शैली अपनाउने गरेको थाहै छ । यस्तै अनौठो तरिका अपनाएर पोखराका दुई फोटोग्राफर लुटिएका हुन् । ४ हजार पेश्की दिएर बोलाएर, एयरपोर्टमै पुगेर लिएर होटल पुगेपछि उनीहरुले सामान लुटेका हुन् ।
कार्कीलाई ढकालले गत पुष २४ गते इ–सेवाबाट ४ हजार रुपैँया पठाएर क्यामेरासहित आउन भनेपछि कार्की र खत्री २५ गते बुढीगंगा पुगेका थिए । पोखराबाट काठमाण्डौ र काठमाण्डौ बिराटनगर प्लेनमै दुई जना गएका थिए । एयरपोर्टसम्म गाडी लिएर लिन समेत आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार उक्त घटनामा ढकालका सहयोगी २० वर्षीय साराशं भट्टराईलाई पनि पक्राउ गरेको छ । ढकालले कार्की र खत्रीलाई बुढीगंगा १ मा रहेको आर.एन.होटल एण्ड लजको ११४ नम्बर कोठा बुक गरिदिएका थिए । त्यही कोठामा सामान राखेर खाना खाने बहानामा दुई जनालाई इटहरीको प्राइम होटल लगेका थिए । त्यसपछि, होटलको रुममा गएर फर्कन्छु भनेर गएका ढकाल र भट्टराई सबै क्यामेरा, लेन्स लगायतका फोटोग्राफी सम्बन्धी सामान लिएर फरार भएका थिए ।
प्रहरीले दुवै जनाको साथबाट चोरीका फोटोग्राफी सम्बन्धी क्यामेरा, मेमोरी कार्ड, ड्रोन लगायत १४ प्रकारका सामान बरामद गरेको छ । दुवै जनालाई चोरी कसुरमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले गण्डक न्यूजलाई जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट ल्यापटप १ थान, झोला ७ थान, क्यामरा ३ थान, क्यामरा लाइट ब्याट्री ५ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६ वटा , ड्रोन १ थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, माइक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान र लाइट १ थान बरामद गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-