स्याङ्जाको गल्याङ नगरपालिकामा बनेको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–११ बुढाथोकीडाँडा र वडा नं. ७ सेनापुक जोड्ने ४४४ मिटर लामो पुल सञ्चालनमा आएको हो ।
झोलुङ्गे पुल सञ्चालनमा आएसँगै एक घण्टाको यात्रा अब १५ मिनेटमा छोटिएको छ ।
संघीय सरकारअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडौंमार्फत पुल निर्माण गरिएको हो । नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार पुल निर्माणमा ४ करोड ५६ लाख ५८ हजार २४८ रुपैयाँ ६० पैसा खर्च भएको छ ।
यसअघि करादीमा बनेको झोलुङ्गे पुलभन्दा गल्याङमा निर्माण भएको पुल ७६ मिटर लामो छ । जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले गत वर्ष १० असारमा निर्माणको जिम्मा लिएको थियो । १८ महिनाभित्र काम सक्ने सम्झौता भए पनि निर्माण कम्पनीले पाँच महिनाअघि नै पुल तयार पारेको नगरप्रमुख भट्टराईले बताए ।
निर्माण अवधि गुज्रिएर धेरै आयोजना अलपत्र परिरहेका बेला जिल्लाकै लामो पुल निर्धारित समयभन्दा अगावै सम्पन्न भएको उनको भनाइ छ ।
पुल सञ्चालनमा आएपछि बुढाथोकीडाँडा र सेनापुक क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ । विशेषगरी व्यापार–व्यवसाय, शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका लागि ओहोरदोहोर गर्ने स्थानीयलाई समय बचत भएको नगरपालिकाले जनाएको छ ।
पुल बनेपछि गल्याङ नगरपालिका–७ सेनापुक सिधै सिद्धार्थ राजमार्गसँग जोडिएको छ । यसअघि उक्त क्षेत्रबाट राजमार्गसम्म पुग्न करिब एक घण्टा लाग्नेमा अहिले १५ मिनेटमै पुग्न सकिने भएको छ ।
पुलको भारवहन क्षमता एक हजार ५८ जना मानिस र १३३ मेट्रिक टन रहेको जनाइएको छ । नगरप्रमुख भट्टराईले पुलले गल्याङको भौतिक पूर्वाधारसँगै आर्थिक, पर्यटन र सामाजिक विकासमा समेत योगदान पुर्याउने बताए ।















