नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारलाई तर्साएर शासन गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् । कांग्रेस जीवित रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने भन्दै उनले निर्वाचन जित्दैमा कानुन मिच्ने छुट कसैलाई नहुने बताएका छन् ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा आज वालिङमा बोल्दै महामन्त्री पौडेलले लोकतन्त्रको पक्षमा आवाज उठाउने कांग्रेसलाई कमजोर बनाएर देशको लोकतान्त्रिक व्यवस्था नै कमजोर पार्ने प्रयास भइरहेको बताए ।
‘निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त हुँदैन,’ उनले भने, ‘शासन विधिअनुसार चल्नुपर्छ । संविधानभन्दा माथि कोही छैन ।’
कांग्रेसलाई कमजोर बनाउने उद्देश्यले राजनीतिक विषयलाई अनावश्यक रूपमा कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको उनको भनाइ थियो । अदालतमा मुद्दा पर्दैमा पार्टीको गति नरोकिने र नेतृत्वमा असर नपर्ने उल्लेख गर्दै उनले मुद्दा चल्दैमा दुईवटा कांग्रेस वा दुई जना सभापति नहुने बताए । एउटै झण्डामुनि दुई पार्टी र दुई नेतृत्व हुन नसक्ने उनको तर्क थियो ।
पार्टीको आन्तरिक विवादमा व्यक्तिगत स्वार्थ हाबी हुन नहुने भन्दै पौडेलले कसैले आफ्नो स्वार्थका लागि पार्टीलाई कमजोर बनाउन नहुने बताए । विधिको शासन सबैले पालना गर्नुपर्नेमा जोड दिँदै उनले पार्टी सभापति गगनकुमार थापामाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे । गलत काम गर्ने जोसुकै भए पनि छानबिन गरेर कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।
वर्तमान सरकार नागरिकको जनस्तरसम्म पुगेर काम गर्न असफल भएको आरोप पनि पौडेलले लगाए । झन्डै दुईतिहाइ समर्थन पाएको सरकारप्रति नागरिकका अपेक्षा धेरै रहेको भन्दै उनले जनहितलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिए ।
संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितका समस्या र सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको उनको आरोप थियो । सरकारले नागरिकका मुद्दामा आवश्यक कदम चाल्न सके कांग्रेसले बाहिर बसेर सकारात्मक सहयोग गर्ने उनले बताए ।
‘नागरिकसँग जोडिएका मुद्दाका विषयमा सरकारले कदम चाल्न सकोस्, हामी बाहिरै बसेर सहयोग गर्न तयार छौँ,’ उनले भने ।
सरकारका राम्रा काममा सहयोग र गलत कामको विरोध गर्ने कांग्रेसको नीति रहेको उल्लेख गर्दै पौडेलले नागरिकका आवश्यकता र समस्यालाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताए । नागरिकका मुद्दा उठाउन नसक्ने पार्टी कांग्रेस हुन नसक्ने भन्दै उनले बेथिति हटाउन र जनताका पक्षमा काम गर्न नेता–कार्यकर्तालाई आग्रह गरे ।
कांग्रेसले निर्वाचनमा पराजय बेहोरे पनि विचारको जित कायम रहेको उनको भनाइ थियो । नागरिकका पक्षमा काम गर्न नसक्दा पार्टीले चुनावमा हार बेहोर्नुपरेको समीक्षा गर्दै उनले कांग्रेस राजनीतिको विश्वविद्यालय भएको बताए । कांग्रेसको इतिहास बलिदानसँग जोडिएको उल्लेख गर्दै उनले लोकतन्त्रको सुरुवात र विकासमा पार्टीको योगदान रहेको दाबी गरे ।
१५ सालमा बीपी कोइरालाले अघि सारेका एजेन्डा मात्रै दोहोर्याएर अहिलेको राजनीति अघि बढ्न नसक्ने भन्दै पौडेलले बीपीका विचार र एजेन्डामा टेकेर वर्तमान समयका आवश्यकता सम्बोधन गर्नुपर्ने बताए ।
पार्टीमा पद र जिम्मेवारी पाउनु मात्रै ठूलो कुरा नभई जिम्मेवारी पाएपछि के काम गर्ने भन्ने मुख्य विषय भएको उनले बताए । जिम्मेवारी पाएका र नपाएका सबैले समान दायित्वबोधका साथ संगठन बलियो बनाउनुपर्ने उनको भनाइ थियो । उनले आगामी मंसिर १ गतेदेखि स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने जानकारीसमेत दिए ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेस अन्य राजनीतिक दलभन्दा फरक रहेको कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताए । कांग्रेसको इतिहास, विचार र योगदान जनतामाझ स्पष्ट पार्न सके पार्टी आफ्नो गौरवशाली अवस्थामा फर्किन सक्ने उनको भनाइ थियो ।
सत्यको मृत्यु हुँदा अराजकताले शासन गर्ने अवस्था आउने उल्लेख गर्दै शर्माले अहिले देशमा त्यस्तै परिस्थिति देखिएको बताए । उनले नेता तथा कार्यकर्तालाई सत्य बोल्न नछाड्न आग्रह गरे ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, कल्पना तिवारी, सुवास शर्मा, तिलक रानाभाट, युवराज पाण्डे, खुमाप्रसाद अर्याल र अनुप श्रेष्ठलगायतले नवनिर्वाचित प्रदेश कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । जिल्ला सभापति राजु थापाले पार्टी संगठन र आगामी राजनीतिक यात्राबारे धारणा राखेका थिए ।
वालिङ नगरसभापति पदम गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रदेश सभापतिका निकटतम प्रतिस्पर्धी छवि आले र निवर्तमान प्रदेश सभापति अर्जुन खनालले पनि धारणा राखेका थिए । नवनिर्वाचित क्षेत्र नम्बर २ (क) का पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गर्नुका साथै जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यलाई सम्मान गरिएको थियो ।
क्षेत्र नम्बर २ (क) का प्रदेश सभापति यामप्रसाद अधिकारी(लक्ष्मण)को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राजु तिवारीले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित प्रदेश कार्यसमितिलाई पद हस्तान्तरणसँगै संगठन सुदृढीकरण र पार्टीको आगामी राजनीतिक रणनीतिबारे प्रशिक्षणसमेत दिइएको थियो ।














