स्याङ्जाको बिरुवा गाउँपालिका–८ छिपाडाँडास्थित बनमाराको झाडीमा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ ।
बुधबार दिउँसो प्रहरी गस्ती टोलीले झाडीमा लुकाइएको अवस्थामा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार प्रहरी चौकी बिरुवाअर्चलेबाट खटिएको टोलीले बन्दुक बरामद गरेको हो ।
बेवारिसे अवस्थामा फेला परेको बन्दुक बरामद गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको डिएसपी अवस्थीले जानकारी दिए ।














