आठौँ कालीगण्डकी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित गंगालाल माध्यमिक विद्यालयको खेल मैदानमा हुने पहिलो खेलमा आयोजक चापाकोट फुटबल क्लब (द राइजिङ ग्रुप) र होराइजन क्लब वालिङबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।
आजै हुने दोस्रो खेलमा ज्योतिपुञ्ज क्लब पाल्पा र भदौरे क्लब कास्की आमनेसामने हुनेछन् । यी दुई टोलीबीचको खेल दिउँसो २:३० बजे हुनेछ ।
प्रतियोगिताअन्तर्गत हिजो भएका खेलमा बौद्ध शान्ति एफसी पोखरा र हिल्ली फिल्डर्स गोरखा एफसी विजयी भएका थिए । बौद्ध शान्तिले मर्दिखोला युनाइटेड क्लब पर्वतलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा सुशन गुरुङले दुई तथा आशिष गुरुङले दुई गोल गरेका थिए ।
त्यस्तै, हिल्ली फिल्डर्स गोरखाले स्याङ्जा युथ क्लबलाई सडन डेथमा पराजित गरेको थियो । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पहिलो पाँच प्रहारमा ४–४ को बराबरी भएपछि सडन डेथमा गोरखा विजयी भएको थियो ।
द राइजिङ ग्रुप चापाकोटको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता कात्तिक १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा पाल्पा, स्याङ्जा, कास्की, गोरखा र पर्वतका आठ टोली सहभागी छन् ।
ग्रुपका अध्यक्ष लालबहादुर घर्तीका अनुसार युवामा फुटबलप्रतिको आकर्षण बढाउने र खेलकुदमार्फत चापाकोटको पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने घर्तीले जानकारी दिए ।
खेलाडीको खानपान, आवास, यातायात र पुरस्कारलगायतका शीर्षकमा प्रतियोगिता सञ्चालन गर्न २३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।














