स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
हुवासबाट वालिङतर्फ आउँदै गरेको ट्याक्टर आइतबार साँझ वालिङ नगरपालिका–९ गाइस्वारामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार ग १ त ५७६९ नम्बरको ट्याक्टर साँझ करिब ६:५० बजे सडकको बायाँ किनारमा पल्टिएको थियो ।
दुर्घटनामा ट्याक्टरमा सवार वालिङ नगरपालिका–१० का ६१ वर्षीय नन्दलाल बुढामगरको मृत्यु भएको छ । घाइते अवस्थामा उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पुर्याइएका उनलाई चिकित्सकले साँझ ७:३५ बजे मृत घोषणा गरेका थिए ।
त्यस्तै, दुर्घटनामा गम्भीर घाइते भएका पर्वत घर भई हाल वालिङ–१० बस्ने ४३ वर्षीय प्रेम रानामगरको पनि मृत्यु भएको छ । टाउको र शरीरका भित्री भागमा चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेका उनको उपचारका क्रममा राति ८:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक दाङको शान्तिनगर गाउँपालिका–१ का ३७ वर्षीय धनवीर पुनमगर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, वालिङ–१० का २० वर्षीय सुलभ परियारको बायाँ हात, खुट्टा र कम्मरमा चोट लागेको छ । सोही ठाउँका ४६ वर्षीय झकबहादुर थापाको दाहिने हात र ढाडमा चोट लागेको छ । उनीहरू दुवैको अवस्था मध्यम रहेको छ ।
घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान गर्न वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरीले जनाएको छ ।















