पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. ३ बाट जीवनाथ लामिछानेले क्षेत्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
लामिछानेले गाउँको आर्थिक विकास र रोजगारी सिर्जनालाई आफ्नो राजनीतिक प्राथमिकतामा राख्ने बताएका छन्।
लामिछानेले ‘आफ्नै श्रम, आफ्नै उत्पादन, आफ्नै स्वावलम्बन’ भन्ने अवधारणालाई अघि सार्दै गाउँ बलियो भए मात्रै देश बलियो बन्ने धारणा व्यक्त गरेका छन्।
उनले गाउँमै रोजगारी, उद्यम र उत्पादनका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। मौरीपालनबाट आफूले सिकेको श्रम, अनुशासन र सामूहिकताको संस्कारलाई राजनीतिसँग जोड्दै अघि बढ्ने उनको भनाइ छ।
‘रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने’ सोचका साथ आफू अघि बढिरहेको उल्लेख गर्दै लामिछानेले स्थानीय उत्पादन, उद्यमशीलता र आत्मनिर्भरतालाई राजनीतिक प्राथमिकतासँग जोड्नुपर्ने बताएका छन्।
मौरीपालनमा सक्रिय लामिछानेको पोखरा–२३ स्थित पञ्चोले मौरी फर्म छ।
पार्टीको संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा समयानुकूल परिवर्तनलाई आत्मसात् गर्दै कांग्रेसलाई थप सबल र प्रभावकारी बनाउने उद्देश्यसहित आफू उम्मेदवार बनेको लामिछानेले बताएका छन्।
लामिछानेले पार्टीभित्र परम्पराको सम्मान र परिवर्तनको संकल्पलाई सँगसँगै अघि बढाउँदै संगठनलाई थप गतिशील बनाउन आफ्नो भूमिका रहने बताएका छन्। लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताबीच सहकार्य, एकता र संगठनात्मक अनुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।















