स्याङ्जामा स्वास्थ्य सेवा सुधारका लागि गरिएको मूल्यांकनमा अर्जुनचौपारी गाउँपालिका–२ स्थित अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लाकै उत्कृष्ट बनेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमका ३१ वटा सूचकका आधारमा गरिएको मूल्यांकनमा अर्जुनचौपारी स्वास्थ्य चौकीले ९०.७ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।
जिल्लाका ९७ वडामा रहेका स्वास्थ्य संस्थालाई पछि पार्दै अर्जुनचौपारी स्वास्थ्य चौकीले लगातार दोस्रोपटक प्रथम स्थान हासिल गरेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए ।
मूल्यांकनमा ८६.८ अंक प्राप्त गर्दै वालिङ नगरपालिका–९ स्थित गह्रौं प्राथमिक अस्पताल र डुँडखोला स्वास्थ्य केन्द्र संयुक्त रूपमा दोस्रो भएका छन् । त्यस्तै भीरकोट नगरपालिका–६ स्थित खिलुङदेउराली स्वास्थ्य चौकीले ८६.६ अंकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।
प्रथम, द्वितीय र तृतीय हुने स्वास्थ्य संस्थालाई जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले सम्मानपत्रसहित पुरस्कार प्रदान गरे ।
पुरस्कार वितरण कार्यक्रममा जिटीले उत्कृष्ट स्वास्थ्य संस्थाले प्राप्त गरेको उपलब्धिलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । उनले गाउँगाउँमा रहेका नागरिकलाई स्वास्थ्य संस्थामार्फत गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।















