स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ नयाँगाउँमा गोठभित्र अचेत अवस्थामा भेटिएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका–९ वल्मी घर भई हाल पुतलीबजार–१३ नयाँगाउँमा बबिता नेपालीको घरगोठ भाडामा लिएर बस्दै आएकी ३५ वर्षीया सुशिला मगर सोमबार दिउँसो गोठमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनी त्यहाँ ज्याला मजदुरीको काम गर्दै आएकी थिइन् ।
मगर गोठमा अचेत अवस्थामा रहेको भन्ने स्थानीयबाट सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले उनलाई तत्काल उपचारका लागि पुतलीबजारस्थित प्रदेश अस्पताल लगेको थियो ।
अस्पताल पुर्याइएको केही समयपछि चिकित्सकले मगरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
प्रहरीका अनुसार मगरले अत्यधिक मादक पदार्थ (रक्सी) सेवन गर्ने गरेको बुझिएको छ । उनको शरीरमा बाहिरी चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ ।
घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















