स्याङ्जाको बिरुवा गाउँपालिकामा पालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी ब्रोइलर कुखुरा ओसारपसार गरेको जीपलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार शनिबार प्रहरी चौकी बिरुवाअर्चलेबाट खटिएको टोलीले बिरुवा गाउँपालिका–१ कटहरेमा बलेरो जीप चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा बीएए २८४९ नम्बरको बलेरो जीपमा पालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी १५० वटा ब्रोइलर कुखुरा ओसारपसार भइरहेको भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले जीप नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि बिरुवा गाउँपालिकाको कार्यालयमा बुझाएको थियो । गाउँपालिकाले जीपलाई एक हजार पाँच सय ५० रुपैयाँ जरिवाना गरेको र त्यसपछि छाडिएको डीएसपी अवस्थीले जानकारी दिए ।
प्रहरीका अनुसार पालिकाले तोकेको निकासी कर नतिरी कृषि तथा पशुजन्य सामग्री ओसारपसार गर्ने सवारीमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइनेछ ।














