स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले होटल, मासुपसल तथा डेरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई खाद्य स्वच्छता र सरसफाइसम्बन्धी अभिमुखीकरणसहित सुरक्षण सामग्री वितरण गरेको छ ।
नागरिकलाई स्वस्थ मासु तथा सरसफाइयुक्त खाद्य पदार्थ उपलब्ध गराउने र खाद्य तथा पोषणसम्बन्धी अधिकार सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले पोषण तथा खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका मासुपसल, होटल तथा डेरी व्यवसाय सञ्चालन गर्ने ५० जना व्यवसायी सहभागी थिए । सहभागी व्यवसायीलाई व्यवसाय सञ्चालनका क्रममा प्रयोग गर्ने एक थान एप्रोन, दुई थान टोपी र एक जोर पञ्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले अर्जुनचौपारीलाई सरसफाइयुक्त पालिकाका रूपमा विकास गर्ने अभियानमा गाउँपालिका जुटेको बताए ।
उनले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले होटल, मासुपसल तथा डेरीमा सरसफाइलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । अभिमुखीकरण तथा सुरक्षण सामग्री वितरणलाई पालिकाको पहिलो प्रयासका रूपमा अघि बढाइएको भन्दै अध्यक्ष तिवारीले आगामी दिनमा सरसफाइसम्बन्धी अभियानलाई सबै नागरिकसम्म पुर्याउने बताए ।
पालिकाभित्र व्यवस्थित बधशाला निर्माण गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले होटल तथा खाद्य व्यवसाय सञ्चालन हुने स्थानमा पुगेर व्यवसायीलाई आवश्यक सचेतना प्रदान गर्ने बताए ।
कार्यक्रमका प्रमुख प्रशिक्षक भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाका प्रमुख डा. रुपेश श्रेष्ठले मासु काट्ने तथा बिक्री गर्ने तरिका, मासु पसलमा कायम गर्नुपर्ने सरसफाइ र फोहोर मासु तथा अव्यवस्थित व्यवस्थापनबाट हुन सक्ने स्वास्थ्य क्षतिबारे व्यवसायीलाई जानकारी गराए ।
उनले मासुको स्वच्छता कायम गर्न बध गर्ने स्थानदेखि उपभोक्तासम्म पुर्याउने प्रक्रियामा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याल, पोषण कार्यक्रमका प्रमुख ललित थापालगायतले खाद्य स्वच्छता र व्यवसाय सञ्चालनमा अपनाउनुपर्ने सावधानीका विषयमा धारणा राखेका थिए ।
गाउँपालिकाले सुरक्षण सामग्री वितरणसँगै व्यवसायीलाई व्यवहारिक रूपमा सरसफाइका मापदण्ड पालना गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।















