स्याङ्जाको गल्याङस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ घर भई हाल गल्याङ नगरपालिका–११ मुडकिल्लामा बस्दै आएका करिब २५ वर्षीय बलदेव बस्नेतको शव सोमबार फेला परेको हो ।
बस्नेत गल्याङ नगरपालिका–७ स्थित आँधीखोलामा आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनी सोही क्षेत्रमा पुल निर्माणको काम गर्दै आएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएपछि प्रहरी चौकी गल्याङ र सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर हेडक्वार्टर गुल्म वालिङबाट खटिएको टोलीले खोजी सुरु गरेको थियो । खोजतलासका क्रममा बेपत्ता भएको स्थाननजिकै सोमबार दिउँसो उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
प्रहरीले शव खोलाबाट बाहिर निकालिसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।















