स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा बाघको आक्रमणबाट दुई वटा बाख्रा मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बुधबार राति मिर्मीस्थित क्याम्पसरोड निवासी विनिता भट्टराईको बाख्राको खोरमा पसेको बाघले दुई वटा बाख्रालाई आक्रमण गरी मारेको हो ।
घटनाबारे आवश्यक विवरण संकलन तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले बताए ।
पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् । केही दिनअघि मात्रै पुतलीबजार नगरपालिका–१३ मा चितुवाले कुखुरा फार्ममा आक्रमण गर्दा ठूलो संख्यामा ब्रोइलर कुखुरा नष्ट भएका थिए भने गल्याङ नगरपालिका–५ मा बाघको आक्रमणबाट १० वटा बाख्रा तथा बोका मरेका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वन्यजन्तुको जोखिम बढ्दै गएको भन्दै स्थानीयलाई रातिको समयमा पशुचौपायाको सुरक्षामा विशेष सावधानी अपनाउन तथा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरी वा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ ।















