स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ मा लगातारको वर्षा र वन्यजन्तुको आक्रमणका कारण किसानले लगातार क्षति बेहोर्नुपरेको छ ।
बिहीबार बिहान अविरल वर्षाका कारण एक किसानको गोठ भत्किँदा तीन चौपाया मरेका छन् भने अघिल्लो दिन चितुवाले कुखुरा फार्ममा पसेर ६० वटा ब्रोइलर कुखुरा नष्ट गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान पुतलीबजार–१३ हल्लेखोलाका सागर थापाको ढुङ्गा–माटोले बनेको टिनले छाएको दुईतले गोठ अविरल वर्षाका कारण भत्किएको हो ।
गोठ भत्किँदा भित्र रहेका छ वटा भैँसी तथा पाडामध्ये एक भैँसी र दुई पाडो पुरिएर मरेका छन् । अन्य तीन वटा भैँसी भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो भने थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
यसअघि बुधबार बिहान सोही नगरपालिका–१३ गिजिङडाँडास्थित इन्द्रबहादुर गोदारले सञ्चालन गरेको विष्णु कृषि तथा पशुपन्छी फार्ममा चितुवा पसेर कुखुरामाथि आक्रमण गरेको थियो ।
प्रहरीका अनुसार फार्ममा रहेका ११० वटा ब्रोइलर कुखुरामध्ये २५ वटा मृत अवस्थामा फेला परेका छन् भने ३५ वटा कुखुरा हराएका छन् । हराएका कुखुरा चितुवाले लगेको अनुमान गरिएको छ । ५० वटा कुखुरा भने सुरक्षित रहेका छन् । चितुवाको आक्रमणबाट फार्मको संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
लगातारको प्राकृतिक विपत्ति र वन्यजन्तुको आक्रमणले किसानको जनधनमा क्षति बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घटनाबारे आवश्यक अनुसन्धान तथा विवरण संकलनको काम जारी रहेको जनाएको छ । सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार दुवै घटनाको आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।















