स्थायी शिक्षकको सुरक्षित जागिर धेरैका लागि जीवनभरको सपना हुन्छ । तर स्याङ्जाको गल्याङ नगरपालिका–९ चितडाँडाका ५५ वर्षीय पर्शुराम खनालले भने जागिरमा अझै १० वर्ष सेवा अवधि बाँकी रहँदै त्यसलाई त्यागेर व्यावसायिक कृषि रोजे । अहिले उनको रोजाइ बनेको छ– कागती खेती ।
प्राथमिक तहमा करिब ३० वर्ष स्थायी शिक्षकको रूपमा सेवा गरेका खनालले पाँच वर्षअघि शिक्षण पेसाबाट अवकाश लिएर कृषि क्षेत्रमा पूर्ण रूपमा होमिएका हुन् । सुरुमा सात जना मिलेर पाँच सय रोपनी बाँझो जमिन खरिद गरी ‘साउथ एशियन मल्टी एग्रो फार्म’ स्थापना गरेर सुन कागती–१ जातको व्यावसायिक खेती सुरु गरिएको थियो । पछि अन्य साझेदार अलग भएपछि अहिले खनालले एक्लै फार्म सञ्चालन गरिरहेका छन् ।
हाल उनले २२० रोपनी क्षेत्रफलमा पाँच हजार पाँच सय कागतीका बिरुवा लगाइसकेका छन् । चालु आर्थिक वर्षभित्र थप तीन सय रोपनीमा बिरुवा विस्तार गर्ने तयारी पनि भइरहेको उनले बताए । योजना पूरा भए कुल पाँच सय रोपनी क्षेत्रफलमा कागती खेती फैलिनेछ ।
परम्परागत खेती गर्दा बाँदरलगायत जंगली जनावरबाट बाली जोगाउन निकै कठिन भएपछि विकल्पको खोजीमा कागती खेती रोजेको खनाल बताउँछन् । अन्य बालीको तुलनामा कागती व्यवस्थापन गर्न सहज, बाँझो जमिनको उपयोग हुने र छोटो समयमै उत्पादन दिन थालेपछि आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।
उनका अनुसार कागती खेतीले दोहोरो फाइदा दिएको छ । एकातिर बाँझो जमिन उत्पादनमा जोडिएको छ भने अर्कोतिर जंगली जनावरबाट हुने क्षति पनि कम भएको छ ।
अहिलेसम्म कागती खेतीमा करिब ४० लाख रुपैयाँ लगानी भइसकेको खनालले बताए । यसै आर्थिक वर्षदेखि उत्पादनबाट आम्दानी आउन थालेको उनको भनाइ छ । सबै बिरुवाले पूर्ण रूपमा उत्पादन दिन थालेपछि खर्च कटाएर मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान उनले गरेका छन् । पाँच सय रोपनी क्षेत्रफलबाट उत्पादन सुरु भएपछि भने मासिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको उनी बताउँछन् ।
खेती गरिएको सुन कागती–१ जात वर्षभर फल्ने भए पनि करिब छ महिना बढी उत्पादन दिने र बाँकी अवधिमा पनि निरन्तर फल दिने विशेषता रहेको उनले जानकारी दिए ।
कागतीका बोटबीच खाली रहेको जमिनमा उनले खुर्सानी, काउलीलगायत तरकारी खेती पनि गर्दै आएका छन् । यसले अतिरिक्त आम्दानीसँगै जमिनको सदुपयोग भएको उनको अनुभव छ ।
फार्म सञ्चालनका लागि अहिले १० जनाले नियमित रोजगारी पाएका छन् । उनीहरूको तलबमा मात्रै मासिक करिब एक लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको खनालले बताए ।
उनका अनुसार अहिले उत्पादनबाट खर्च धान्ने अवस्था बनेको छ । तर कागतीका सबै बिरुवा पूर्ण उत्पादनमा पुग्न अझै केही समय लाग्ने भएकाले अपेक्षित आम्दानी लिन भने केही वर्ष कुर्नुपर्ने उनको भनाइ छ ।
कृषि विकास कार्यालय स्याङ्जाका अनुसार जिल्लामा हाल ४५२ हेक्टर क्षेत्रफलमा कागती खेती भइरहेको छ । त्यसमध्ये २२५ हेक्टर क्षेत्रफलमा नयाँ बिरुवाहरू हुर्किने चरणमा रहेका छन् । जिल्लामा व्यावसायिक कागती खेती विस्तार हुँदै जाँदा किसानको आकर्षण पनि बढ्दै गएको कार्यालयको तथ्यांकले देखाएको छ ।















