स्याङ्जा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार साउन १ गते जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास अभियान सञ्चालन गरी ९ पुरुष र ४ महिला गरी १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीबाट अदालतले तोकेको ३० दिन कैद सजाय कार्यान्वयन गरिनुका साथै २३ हजार ४२० रुपैयाँ ६० पैसा जरिवाना समेत असुलउपर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये अंशबण्डा मुद्दाका ३ जना, लुटपाटका २ जना, सम्बन्धविच्छेदका २ जना, कुटपिटका २ जना, चोरीका २ जना, चेक अनादरका १ जना र लेनदेन मुद्दाका १ जना रहेका छन् ।
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको जनाएको छ । प्रहरीका अनुसार कानुनी शासनको प्रभावकारी कार्यान्वयन र अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै यस्ता अभियान आगामी दिनमा पनि जारी रहनेछन् ।















