केही समयअघिसम्म स्याङ्जाको भीरकोट नगरपालिका–६ का कृष्ण बोटेको घरमा न बिजुली थियो, न सुत्नका लागि ओछ्यान । अपांगता र आर्थिक अभावसँग जुधिरहेका माझी (बोटे) समुदायका कृष्ण महिनौँदेखि अँध्यारो कोठाको भुइँमै रात बिताइरहेका थिए । घरमा आधारभूत सामग्रीसमेत थिएन, दैनिक गुजारा चलाउन पनि उनलाई निकै कठिन भइरहेको थियो ।
तर एउटा समाचारले उनको जीवनको दिशा बदलिदियो । स्याङ्जाका सञ्चारकर्मी हिमाल न्यौपानेले कृष्णको दयनीय अवस्थाबारे तयार पारेको समाचार नेपाल टेलिभिजनबाट प्रसारण भयो । यही समाचार हजारौँ किलोमिटर टाढा जापानमा रहेका भीरकोट–८ खोरबार निवासी प्रकाश खत्रीसम्म पुग्यो ।
समाचार हेरेपछि उनले आफ्नै गाउँका एक असहाय नागरिकको अवस्था देखेर चुप लागेर बस्न सकेनन् । तत्काल समाजसेवी बाबुराजा खत्रीमार्फत १६ हजार रुपैयाँ सहयोग पठाउने निर्णय गरे ।
त्यही सहयोगबाट कृष्णको घरमा सबैभन्दा पहिले काटिएको विद्युत् लाइन पुनः जडान गरियो । बक्यौता महसुल र नयाँ मिटर जडानबापत ३ हजार ५ सय ८ रुपैयाँ भुक्तानी गरियो । सोमबार साँझ नयाँ मिटर जडान भएसँगै महिनौँदेखि अन्धकारमा डुबेको घर उज्यालियो ।
कृष्णका लागि त्यो उज्यालो केवल बिजुली बलेको क्षण मात्र थिएन, नयाँ जीवनको सुरुवात थियो ।
सहयोग रकमबाट एक सेट पलङ, खाना पकाउने भाँडाकुँडा, बाल्टी, ओड्ने सिरक तथा अन्य आवश्यक घरायसी सामग्री पनि खरिद गरी उनको घरमै पुर्याइयो । भुइँमा सुत्न बाध्य कृष्ण अब पलङमा आरामसँग सुत्न पाउने भएका छन् भने दैनिक जीवनका आवश्यक सामग्रीको अभाव पनि धेरै हदसम्म हटेको छ ।
यो अभियानमा स्थानीय समाजका विभिन्न व्यक्ति र संस्थाले पनि साथ दिए । सहयोग समन्वयमा भीरकोट लायन्स क्लबका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण), भाग्योदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ अर्याल तथा समाजसेवी बाबुराजा खत्री सक्रिय बने । उनीहरूले वालिङस्थित बुटवल पावर कम्पनी (बिपिसी)को कार्यालय पुगेर महसुल तिर्ने, नयाँ मिटर जडान गराउने तथा आवश्यक सामग्री खरिद गरी कृष्णको घरसम्म पुर्याउने काममा अग्रसरता लिए ।
लायन्स क्लबले एक बोरा चामल, दाल, तेल, मसला लगायतका खाद्यान्न सहयोग गर्यो । सफल फर्निचरले डसना, सिरानी र तन्नासहितको बिस्तारा उपलब्ध गरायो भने केसी भाँडा पसलले थाल, कचौरा र गिलास सहयोग गरेको छ ।
सामग्री घरसम्म पुर्याउनु पनि सहज थिएन । बयरघारीदेखि चिउरेनीसम्म करिब ६ किलोमिटर कच्ची सडक पार गरेर सामान ढुवानी गर्नुपरेको थियो । यो जिम्मेवारी भीरकोट लायन्स क्लबका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारीले निःशुल्क रूपमा पूरा गरेका थिए ।
कृष्ण बोटेको घरमा पुगेको सहयोग रकमभन्दा ठूलो कुरा भने त्यसमा जोडिएको मानवीय भावना हो । एउटा समाचारले विदेशमा रहेका नेपालीको मन छोयो । एक जनाको पहलले धेरै सहयोगी हातहरू एक ठाउँमा जोडिए । परिणामस्वरूप महिनौँदेखि अन्धकारमा डुबेको एउटा घर उज्यालियो ।
यो घटनाले सञ्चारमाध्यमले उठाएका वास्तविक मुद्दाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सन्देश समेत दिएको छ । साथै, विदेशमा बसेर पनि जन्मभूमिका दुःखी र असहाय नागरिकप्रति अपनत्व राख्ने प्रवासी नेपालीहरूको भावना अझै जीवन्त रहेको उदाहरणका रूपमा यो अभियान स्थापित भएको छ ।
आज कृष्ण बोटेको घरमा बलेको बिजुलीको उज्यालो केवल एउटा बल्बको प्रकाश होइन, मानवता, सहकार्य र आशाको उज्यालो बनेर फैलिएको छ ।















