स्याङ्जाको वालिङ नगरपालिकामा कृषि र पशुपालनलाई व्यवसायिक बनाउने उद्देश्यसहित सञ्चालन गरिएको कृषि विकास परियोजनाले किसानको उत्पादन र आम्दानी वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको देखिएको छ ।
वालिङ नगरपालिका र हेफर परियोजनाको साझेदारीमा सञ्चालित परियोजनाको समीक्षा कार्यक्रममा प्रस्तुत विवरण अनुसार करिब ३ करोड ५० लाख रुपैयाँ लगानी भएको यस परियोजनाबाट नगरका १४ वटै वडाका करिब दुई हजार किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।
परियोजनामार्फत कृषकलाई आधुनिक प्रविधिमा आधारित खेतीपाती र पशुपालनतर्फ आकर्षित गर्ने प्रयास गरिएको छ । पशुपालन क्षेत्रमा खोर सुधार, उन्नत जातका बोका वितरण तथा नश्ल सुधार कार्यक्रम सञ्चालन गरिएका छन् भने कृषितर्फ सुन्तला खेती विस्तार, मौसमी तथा बेमौसमी तरकारी उत्पादन, प्लास्टिक टनेल निर्माण र प्राविधिक परामर्शका कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्ण खाँणले कृषि क्षेत्रलाई स्थानीय आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाइएको बताए । उनले वालिङलाई तरकारी तथा मासु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । स्थानीय उत्पादन वृद्धि गर्दै आयातित वस्तुको निर्भरता घटाउने नगरपालिकाको प्राथमिकता रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले किसानमा वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान अझै चुनौतीका रूपमा रहेको उल्लेख गरे । उत्पादन बढे पनि लागत, बिक्री र आम्दानीको व्यवस्थित अभिलेख नराख्ने प्रवृत्तिले कृषि व्यवसायको वास्तविक अवस्था मूल्याङ्कन गर्न कठिन हुने उनले बताए । किसानले उत्पादनसँगै व्यवसायिक व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याए ।
हेफर परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेले नगरपालिकाले अघि सारेको कृषि तथा बजारीकरण रणनीतिलाई परियोजनाले निरन्तर सहयोग गरिरहेको बताए । परियोजनामार्फत कृषि सामग्री वितरण, प्राविधिक परामर्श, सीप विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
स्थानीय उत्पादन वृद्धि, आत्मनिर्भरता र बजारमुखी कृषि प्रणाली विकासलाई केन्द्रमा राखेर सञ्चालन गरिएको परियोजनाले वालिङका किसानमा व्यवसायिक सोचको विकास गराउनुका साथै कृषि क्षेत्रप्रति नयाँ उत्साह समेत थपेको सरोकारवालाहरूले बताएका छन् ।















