जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवाप्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन ‘एकद्वार प्रणाली’ लागू गरेपछि सेवाग्राहीले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता सेवा छोटो समयमै पाउन थालेका छन् । लामो लाइन, भनसुन र पटक–पटक कार्यालय धाउनुपर्ने पुरानो झन्झट हट्दै गएपछि प्रशासनप्रति नागरिकको भरोसा पनि बढ्न थालेको छ ।
नयाँ प्रणाली लागू भएसँगै प्रशासन कार्यालयमा पुग्ने सेवाग्राहीले अब मेसिनबाट टोकन लिएपछि एउटै कक्षमार्फत सेवा पाउने व्यवस्था गरिएको छ । आवश्यक कागजात पूरा भएका सेवाग्राहीले पाँचदेखि १० मिनेटभित्रै नागरिकता पाउन थालेको प्रशासनको दाबी छ ।
यसअघि नागरिकता बनाउन वा प्रतिलिपि लिन प्रशासन पुग्ने सेवाग्राहीले दिनभर लाइन बस्नुपर्ने, कागजात नमिल्दा फेरि फर्किनुपर्ने र कतिपय अवस्थामा होटलमै बस्नुपर्ने अवस्था थियो । अहिले भने टोकन प्रणाली लागू भएसँगै काम छिटो र व्यवस्थित हुन थालेको सेवाग्राही बताउँछन् ।
पुतलीबजार नगरपालिका–१ प्रगतिनगरका शंकर ताम्राकारले पहिले प्रशासन जानु भनेको पूरा दिन छुट्याउनुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले केही मिनेटमै काम सकिने वातावरण बनेको बताए । “पहिला लाइनमा बस्दा दिन नै बित्थ्यो, अहिले टोकन लिएपछि पालो आउँछ र काम छिट्टै हुन्छ,” उनले भने ।
सेवाग्राहीलाई झन्झटरहित, पारदर्शी र समान पहुँचसहितको सेवा दिन एकद्वार प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बताए । उनका अनुसार टोकन प्रणाली सुरु भएपछि अनावश्यक भीड र लाइन हटेको छ भने सेवामा बिचौलियाको प्रभाव समेत कम भएको छ ।
“पहिले झ्यालबाट फाइल दिने क्रममा पालो हेरफेर हुने, भनसुन चल्ने र सेवाग्राही अन्योलमा पर्ने समस्या थियो,” प्रजिअ अर्यालले भने, “अहिले एकै ठाउँबाट प्रक्रिया अघि बढ्ने भएकाले सेवामा सहजता आएको छ ।”
प्रशासनले नागरिकता शाखामा रहेका छुट्टाछुट्टै कक्षलाई पुनःसंरचना गरेर एउटै सेवा कक्ष बनाएको छ । सेवाग्राहीलाई लाइनमा उभ्याउनुको सट्टा कुर्चीमा बसेर पालो कुर्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय परिचयपत्र र राहदानी सेवामा पनि यही प्रणाली लागू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद चापागाईंले कागजात पूरा भएका सेवाग्राहीलाई १० मिनेटमै सेवा दिन सकिने अवस्था बनेको बताए । उनका अनुसार सेवा प्रवाहलाई व्यवस्थित बनाउन प्रक्रिया पुनःसंरचना गरिएको हो ।
दुई वर्षअघि लागू भएको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीका कारण वडाबाट अनलाइनमार्फत पठाइएका विवरण प्रमाणीकरण भएपछि नागरिकता वितरण प्रक्रिया थप सहज बनेको नायब सुब्बा रामप्रसाद पौडेलले बताए ।
प्रशासन कार्यालयमा सेवा लिन पुगेकी पुतलीबजार नगरपालिका–१४ की संगिता ढकालले आफूले पहिले लामो समय लाइन बसेर नागरिकता लिएको अनुभव सुनाउँदै अहिले छोराको नागरिकता भने कागजात पेश गरेलगत्तै प्राप्त गरेको बताइन् । अर्जुनचौपारी गाउँपालिका–४ राम्चेकी अर्पिता चापागाईंले पनि आवश्यक कागजात मिलाएपछि छोटो समयमै नागरिकता पाएको बताइन् ।
यस्तै, भीरकोट नगरपालिका–१ का हबिव खानका अनुसार अहिले प्रशासनमा कसैलाई भनसुन गर्नुपर्ने अवस्था हट्दै गएको छ । “आफ्नो पालो आउँछ र काम हुन्छ, यही नै सबैभन्दा ठूलो परिवर्तन हो,” उनले भने ।
भौगोलिक रूपमा विकट बस्तीहरू रहेको स्याङ्जामा गाउँबाट सदरमुकाम पुग्न नागरिकले घण्टौँ यात्रा गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा एउटै दिनमा काम सकिने वातावरण बनेपछि टाढाबाट आउने सेवाग्राहीलाई समेत ठूलो राहत पुगेको छ ।
प्रशासनले सीमित स्रोत र जनशक्तिकै प्रयोगबाट सेवा सुधारको प्रयास सफल भएको जनाएको छ । मालपोत कार्यालयपछि जिल्लामा एकद्वार प्रणाली लागू गर्ने जिल्ला प्रशासन कार्यालय दोस्रो कार्यालय बनेको बताइएको छ ।
लामो समयदेखि सरकारी कार्यालयमा ‘पहुँच’ र ‘चिनजान’ को प्रभाव हुने गुनासो सुनिँदै आएको अवस्थामा स्याङ्जा प्रशासनले सुरु गरेको यो अभ्यासलाई अहिले सेवामैत्री शासनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।












