गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देश निर्माणका लागि सबै तहबीच सहकार्य अपरिहार्य भएको बताएका छन् । शुक्रबार स्याङ्जाको भीरकोट नगरपालिका–१ दार्सिङ्मा निर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उनले विकासलाई गति दिन आदेशभन्दा कानुन परिमार्जनमार्फत अघि बढ्नुपर्नेमा जोड दिए ।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले संघीय संरचनामा प्रदेश र स्थानीय तह स्वायत्त रहेको उल्लेख गर्दै संघीय सरकारले आदेश दिने होइन, समन्वय गर्ने भूमिका खेल्नुपर्ने बताए । “कानुनभन्दा माथि कोही हुँदैन, संविधानको दायराभित्र रहेर काम गर्नुपर्छ,” उनले भने ।
उनले नागरिकलाई पनि सचेत र सक्रिय रहन आग्रह गरे । “नागरिकले सधैं शासकलाई प्रश्न गर्नुपर्छ । त्यसले शासन सुधार्न मद्दत गर्छ,” उनले भने । सीमित स्रोत–साधनका कारण अपेक्षाअनुसार विकास गर्न चुनौती रहेको स्वीकार गर्दै उनले उपलब्ध बजेटभित्रै प्रभावकारी काम गर्ने नीति लिएको जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले विगतदेखि अलपत्र रहेका योजनालाई प्राथमिकताका साथ पूरा गर्ने लक्ष्य राखेको पनि बताए । करिब ४६७ पुराना योजनालाई क्रमशः सम्पन्न गरिने उनको भनाइ थियो । साथै भीरकोट अस्पतालमा डायलाइसिस सेवा सञ्चालनका लागि मेसिन उपलब्ध गराउने र वालिङ अस्पताल स्तरोन्नति गर्ने योजना पनि सुनाए ।
कार्यक्रममा पूर्वमन्त्री धनराज गुरुङले देशको हितका लागि अध्यादेश ल्याउन सकिने तर पार्टी स्वार्थका लागि प्रयोग गर्न नहुने बताए । विकासमा अनावश्यक राजनीति नगर्न उनले सुझाव दिए ।
नगरपालिकाको नयाँ प्रशासकीय भवन करिब ७ करोड २१ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति र नगरपालिकाको संयुक्त लगानीमा बनेको उक्त भवन गजेन्द्र निर्माण सेवाले निर्माण गरेको हो । छ रोपनी आठ आना क्षेत्रफलमा बनेको भवनमा २५ कोठासहित सभा कक्ष रहेको छ ।














