लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता भई फरार रहेका एक युवकलाई प्रहरीले स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार वालिङ नगरपालिका–८ स्थित खेलमैदानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय, बैदाम कास्कीमा लागूऔषध मुद्दा दर्ता भई फरार रहेका स्याङ्जा भीरकोट नगरपालिका–२ बयरघारीका २४ वर्षीय अनिल भन्ने डिकम्बर गुरुङलाई खोजतलासका क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
पक्राउ परेका गुरुङलाई आवश्यक कानुनी कारबाहीका लागि शनिबार वडा प्रहरी कार्यालय, बैदाम कास्कीमा पठाइएको डिएसपी चौधरीले बताए ।
लागूऔषध सम्बन्धी कसूरमा फरार व्यक्तिहरूको खोजतलासलाई तीव्र बनाइएको साथै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले स्पष्ट पारेको छ ।














